Skip to main content

नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा ३ प्यानलको प्रतिस्पर्धा हुने

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको जेठ २४ गते हुने निर्वाचनका लागि ३ वटा प्यानलका ५१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचनमा संघका पूर्व अध्यक्ष मेघनाथ भुर्तेल, पूर्व प्रथम उपाध्यक्ष डिक बहादुर खत्री र हरिबहादुर पाण्डे प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। निवर्तमान अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्यसमिति विघटन गरी विशेष साधारणसभा र निर्वाचन गर्न निर्देशन दिएको थियो।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि ३ वटा प्यानलको घोषणा गरिएको छ। जिल्ला प्रशासन कार्यालयले कार्यसमिति विघटन गरेपछि भोली (जेठ २४) का लागि तोकिएको विशेष साधारणसभा तथा निर्वाचनमा ३ वटा प्यानल प्रतिस्पर्धामा उत्रिने भएका छन्। तीनै प्यानल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी तथा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आस्थावान रहेको जनाइएको छ।

भुर्तेलले नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन संघको तर्फबाट उम्मेदवारी दिएका छन्। पूर्व प्रथम उपाध्यक्ष डिक बहादुर खत्रीले नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चको तर्फबाट प्यानलसहित प्रतिस्पर्धा गरिरहेका छन्। हरिबहादुर पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी निकट व्यवसायीहरूलाई समेटेर प्यानलसहित चुनावी मैदानमा रहेको छन्। संघका सात जना पदाधिकारी र दश जना सदस्य गरी १७ पदका लागि तीनै प्यानलबाट जम्मा ५१ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

२०७८ चैत २९ गते सम्पन्न ३१ औं साधारणसभाबाट भुवनसिंह गुरुङ अध्यक्ष निर्वाचित भएका थिए। तर उनको कार्यशैलीप्रति कार्यसमितिमा असन्तुष्टि बढेपछि महासचिव महेश कुमार बस्नेतसहित दुई तिहाइ पदाधिकारी र सदस्यहरूले राजीनामा दिएका थिए। राजीनामापछि कार्यसमिति विघटन गरी संघको विधान अनुसार प्रबन्ध समिति गठन गरिएको थियो। उक्त समितिले जेठ २४ गते विशेष साधारणसभा र निर्वाचनको मिति तोकेको थियो।

गुरुङले आफैँ अध्यक्ष भएको दाबी गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले हस्तक्षेप गर्दै कार्यसमिति विघटन गरी जेठ २४ गते विशेष साधारणसभा गर्ने निर्देशन दिएको थियो। त्यसैअनुसार, भोली विशेष साधारणसभा र निर्वाचन हुँदैछ। प्रबन्ध समिति सदस्य तथा संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीले तीन वटा प्यानलबाट नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता भएको जानकारी दिएका छन्।