नेपालको युवा सुर्ती सर्वेक्षण: सानै उमेरमा भेप र शीशा जस्ता हानिकारक वस्तुको प्रयोग वृद्धि

नेपालमा परम्परागत चुरोट र सुर्ती सेवन बाहेक नयाँ किसिमका जोखिमहरूले सानै उमेरका किशोरकिशोरीहरूमा गाँज्ने प्रवृत्ति बढिरहेको छ भन्ने कुरा नयाँ सर्वेक्षणले देखाएको छ। यो सर्वेक्षणले परम्परागत सुर्तीजन्य पदार्थ सेवन निरन्तर रहँदै गर्दा ई-सिगरेट वा भेप, शीशा र हुक्का जस्ता नयाँ र हानिकारक वस्तुहरूको प्रयोग पनि सानै उमेरदेखि बढिरहेको देखाउँछ। चिकित्सकहरूले यस अवस्थालाई चिन्ताजनक भन्दै उपयुक्त नीतिहरू बनाउन सुझाव दिएका छन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यूथ टोबाको सर्वे २०२५ नामक सर्वेक्षणको प्रारम्भिक प्रतिवेदन तयार पारेको छ। लगभग एक वर्ष लगाएर सातै प्रदेशका ५० विद्यालयको ३,००० भन्दा बढी सातदेखि १० कक्षाका विद्यार्थीहरूमाझ यो सर्वेक्षण गरिएको छ भनी अनुसन्धानकर्ता कुसुम शाहीले जानकारी दिइन्। प्रारम्भिक रिपोर्ट अनुसार, शिक्षा संस्थामा रहेका किशोरकिशोरीमध्ये १८.७% ले कुनै न कुनै प्रकारको सुर्तीजन्य पदार्थ सेवन गरेका छन्। यसमा चुरोट, गुट्खा, बिँडी बाहेक शीशा, हुक्का र ई-सिगरेट वा भेप पनि समावेश छन्।
युवा सुर्ती सर्वेक्षणमा १३ देखि १५ वर्ष उमेर समूहमा सेवन प्रतिशत १७.५% रहेको छ। भेपको प्रयोग बढ्दो सो उमेर समूहमा परम्परागत सुर्तीजन्य पदार्थ भन्दा ई-सिगरेट वा भेप, हुक्का, शीशा जस्ता नयाँ पदार्थहरूको प्रयोग दोब्बर बढेको छ। यसअघि यस्तै सर्वेक्षण सन् २०११ मा पनि गरिएको थियो। त्यतिबेलाको तुलनामा परम्परागत सुर्तीजन्य पदार्थको सेवनमा ठूलो परिवर्तन नआए पनि ई-सिगरेट, भेप, शीशा, हुक्का जस्ता पदार्थहरूको प्रयोगले कुल रूपमा स्थिति अझ चुनौतीपूर्ण बनाएको छ।
विशेषज्ञहरू भन्छन् कि सुर्तीजन्य पदार्थले वयस्क भन्दा पनि कलिला उमेरका युवाहरूमाथि ठूलो असर पार्छ। कान्ती बाल अस्पतालका बाल छातीरोग विशेषज्ञ डा जगतजीवन घिमिरेले पछिल्लो समय विशेषगरी सहरी क्षेत्रमा किशोरकिशोरीहरूमा भेप वा ई-सिगरेटको सेवन बढिरहेकोमा चिन्ता व्यक्त गरे। नेपालमा सम्पन्न युवा सुर्ती सर्वेक्षणको अन्तिम प्रतिवेदन छिट्टै सार्वजनिक गरिनेछ र यसले सरकारले उपयुक्त नीतिहरू बनाउन सहयोग पुर्याउने स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ।






