
सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदैछ। पहिलो सेमिफाइनलमा नेपालले ओमानलाई पराजित गर्यो भने दोस्रो सेमिफाइनलमा हङकङले मलेसिया पराजित गर्दै फाइनलमा पुगेका छन्। सेमिफाइनलमा पुगेका नेपाल, हङकङ, ओमान र मलेसियाका टोलीहरू आगामी एसियन गेम्सका लागि छनोट भइसकेका छन्। २४ जेठ, काठमाडौं।
सिंगापुरमा चलिरहेको एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ। आइतबार दिउँसो सम्पन्न दोस्रो सेमिफाइनलमा हङकङले मलेसियालाई हराउँदै फाइनलमा स्थान बनाएको हो। मलेसियाले दिएको ११५ रनको लक्ष्य हङकङले १८.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। शाहिद वासिफले ५९ रन बनाएर अविजित रहे भने बाबर हायातले २४ रन बनाउँदै अविजित रहे।
मलेसियाका विजय उन्नीले २ विकेट लिए भने सायद अजिज र विरानदीप सिंहले समान रूपमा १-१ विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर ११४ रन बनाएको थियो। विरानदीपले सर्वाधिक ४५ रन बनाए। हङकङका लागि एहसान खानले ४ विकेट लिए। आयुष शुक्ला र मोहम्मद हसन खानले २-२ तथा यासिम मुर्तजाले १ विकेट लिए। आजै भएको पहिलो सेमिफाइनलमा नेपालले ओमानलाई सहज रूपमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो। फाइनल खेल सोमबार दिउँसो सवा १२ बजे हुनेछ। तेस्रो स्थानका लागि ओमान र मलेसिया विहान सवा ७ बजेदेखि खेल्नेछन्। नेपालसहित सेमिफाइनलमा पुगेका चार टोलीहरू एसियन गेम्सका लागि छनोट भइसकेका छन्।






