
२४ जेठ, काठमाडौं। ‘क्याप्चर फोटोग्राफी नेपाल’को आयोजनामा सम्पन्न ‘एस अफ एसईई द थन्डर’ सिजन ३ को परिणाम सार्वजनिक गरिएको छ। यो प्रतियोगिता विशेषगरी एसईई सकाएका विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको सौन्दर्य प्रतियोगिता हो, जसको जानकारी कार्यक्रम निर्देशक पविन्द्र श्रेष्ठले दिएका छन्। श्रेष्ठका अनुसार, न्यान्सी गुरुङ र समीर शर्मा सिजन ३ का मुख्य विजेताहरू घोषित भएका छन्। दुवैले ५०–५० हजार रुपैयाँ नगद पुरस्कारका साथै संगै थप अध्ययनको लागि निशुल्क छात्रवृत्ति र अन्य पुरस्कारहरू प्राप्त गरेका छन्।
फस्ट रनरअपको उपाधि अनु तामाङ र अधिराज श्रेष्ठले प्राप्त गरेका छन्। उनीहरूले ३०–३० हजार नगद पुरस्कार र अन्य पुरस्कारहरू पाएका छन्। सेकेन्ड रनरअपहरूले २०–२० हजार नगद पुरस्कार प्राप्त गरेका छन्। यी पुरस्कारहरू सुयना महर्जन र आरोन सिम्खडालाई प्रदान गरिएको छ। एसीई उत्कृष्ट पुरस्कार अंशुमान विक्रम शाहीले जितेका छन् भने आयोजकहरूले ज्वाइव अवार्ड अपूर्वा भण्डारी र आभास खड्कालाई प्रदान गरेका छन्। शुक्रबार राष्ट्रिय नाचघरमा सम्पन्न समारोहमा विजेताहरूलाई सम्मान गरियो।
यस प्रतियोगितामा १४ जना छात्रा र ९ जना छात्र गरी जम्मा २३ जनाले सहभागिता जनाएका थिए। उनीहरूले ३७ दिने तालिम पूरा गरेका थिए, जसमा व्यक्तित्व विकास, सञ्चार कौशल, आत्मविश्वास, नेतृत्व र स्टेज प्रदर्शन सहितका सीपहरू सिकाइएको थियो। ‘एस अफ एसईई’ प्रतियोगिताले मोडलिङ र मनोरञ्जन उद्योगमा युवा प्रतिभाहरूको विकास, आत्मविश्वास निर्माण, नेतृत्व विकास र व्यावसायिक प्रदर्शनका अवसरहरू सिर्जना गर्दै आइरहेको छ।






