
काठमाडौंमा आयोजित एक कार्यक्रममा विज्ञहरूले नेपाली भाषामा एकरुपता ल्याउन सर्वमान्य शब्दकोशको आवश्यकता औंल्याएका छन्। लेखक भिक्टर प्रधानले नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोशको दशौं संस्करणमा पनि पहिलो संस्करणकै त्रुटि दोहोरिएको बताएका छन्। कार्यक्रममा भिम नारायण रेग्मीले प्रज्ञा प्रतिष्ठानको शब्दकोशलाई मानक बनाउने दृष्टिले गम्भीर सम्पादन आवश्यक रहेको बताएका छन्।
२४ जेठ, काठमाडौं। नेपाली भाषाको प्रयोगमा एकरुपता ल्याउन सर्वमान्य शब्दकोशको आवश्यकता रहेको विज्ञहरूले बताएका छन्। काठमाडौंमा सम्पन्न ‘मानक नेपाली शब्दकोश किन र कस्तो’ शिर्षकको कार्यक्रममा सहभागीहरूले नेपाल प्रज्ञा प्रतिष्ठान लगायतका संस्थाले प्रकाशित गरेका शब्दकोशहरू पनि मानक बन्न सकेको नभएको बताएका छन्। हिमाल एसोसियसनद्वारा आयोजित कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै लेखक भिक्टर प्रधानले प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको शब्दकोशको दशौं संस्करणमा पनि पहिलो संस्करणकै गल्ती दोहोरिएको बताएका छन्।
‘कुनै पनि शब्दकोश आफै राम्रो हुँदैन। क्रमिक सुधार हुनु आवश्यक हुन्छ,’ प्रधानले भने, ‘हरेक पाँच वर्षमा नेतृत्व परिवर्तन हुँदा शब्दकोशका सम्पादकहरू फेरिएका कारण क्रमिक सुधार हुन सकेन।’ अर्काे कार्यपत्र प्रस्तुतकर्ता भिम नारायण रेग्मीले प्रज्ञा नेपाली शब्दकोशको आकार बढ्नु सकारात्मक भए पनि त्यसका लागि जे पाइयो त्यही अनुसार शब्द थप्नु नचाहिनेमा जोड दिए। ‘प्रज्ञा प्रतिष्ठानको शब्दकोशले मानक शब्दकोशको दर्जा पाउन गम्भीर सम्पादन आवश्यक छ,’ रेग्मीले भने।
हिमाल एसोसियसनका अध्यक्ष वसन्त थापाले नेपाली भाषा संवर्धनका लागि यस्तो कार्यक्रम आयोजना गरिएको बताए। थापाले भने, ‘एउटा छलफलबाट सबै समस्या समाधान हुने छैन तर समाधानतर्फको यसो कदम उठाइएको आशा हामीले गरेका छौं।’






