म्यारिअट इन्टरनेसनल र सीजी हस्पिटालिटीबीच ऐतिहासिक सम्झौता, नेपालमा दुई अल्ट्रा लक्जरी होटलहरू निर्माण हुँदै

सीजी हस्पिटालिटी ग्लोबल र म्यारिअट इन्टरनेसनलबीच नेपालमा दुई अत्यन्त विलासी होटलहरू सञ्चालन गर्ने ऐतिहासिक सम्झौता भएको छ। काठमाडौंको ठमेलमा १५ अर्ब रुपैयाँ लगानीमा ‘द रिट्ज–कार्लटन काठमाडौं’ होटल निर्माण गरी सन् २०२९ सम्म सञ्चालनमा ल्याइनेछ। सम्झौताअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक १५० कोठा क्षमताको ‘द वेस्टिन काठमाडौं’ होटल पनि सञ्चालन गरिने छ।
२४ जेठ, काठमाडौं। अन्तर्राष्ट्रिय चेन होटल ब्रान्ड म्यारिअटले नेपालमा दुई ‘अल्ट्रा लक्जरी होटल’ सञ्चालन गर्ने गरी सीजी हस्पिटालिटी ग्लोबलसँग ऐतिहासिक सम्झौता गरेको छ। म्यारिअट इन्टरनेसनल बोर्डका अध्यक्ष डेभिड म्यारिअट र सीजी हस्पिटालिटी ग्लोबलका अध्यक्ष विनोद चौधरीको उपस्थितिमा नेपालमा दुई लक्जरी होटल र भारत सिलिगुडीमा एक होटल सञ्चालन गर्ने सम्बन्धमा हस्ताक्षर गरेको हो।
अध्यक्ष चौधरीले भने, ‘नेपालको आतिथ्य उद्योग अब नयाँ उच्च स्तरतर्फ उक्लिन तयार भएको सन्देश यो सम्झौताले दिएको छ।’ रिट्ज–कार्लटन काठमाडौंको भूमिपूजन गत चैतमा गरिसकिएको छ। यो होटल राजधानीको पर्यटकीय केन्द्र ठमेलमा बन्नेछ र यस परियोजनामा १५० कोठा क्षमताको अल्ट्रा लक्जरी होटल, ब्रान्डेड रेसिडेन्स, व्यावसायिक कम्प्लेक्स र क्यासिनो समेत समेटिने छ।
सीजी हस्पिटालिटी र साझेदारहरूले यो परियोजना मार्फत नयाँ सरकारको निजी क्षेत्रप्रतिको विश्वास र लगानी प्रवर्द्धन गर्ने लक्ष्यप्रति प्रतिबद्धता देखाएका छन्। सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक एवं कार्यकारी अधिकृत राहुल चौधरीका अनुसार रिट्ज–कार्लटनको आगमनले चौधरी समूहको नेपालको पर्यटन क्षेत्रमा विश्वस्तरीय योगदान पुर्याउने प्रतिबद्धता पुष्टि गरेको छ।






