Skip to main content

तेस्रो नेपाल अक्वाटिक्स पौडी प्रतियोगितामा प्रहरी टिम विजेता

तेस्रो नेपाल अक्वाटिक्स काठमाडौं महानगर मेयर कप पौडी प्रतियोगितामा नेपाल प्रहरी टिमले १ हजार ३६ अंकसहित च्याम्पियन टिम बन्न सफल भएको छ। प्रतियोगितामा निसर्ग वाटिका स्कुलले ७ सय ७८ अंकसहित दोस्रो स्थान प्राप्त गरेको छ भने एपीएफ क्लब तेस्रो भएको छ जसले ५ सय ७६ अंक जोडेको छ। दुई दिनसम्म चलेको प्रतियोगितामा विभिन्न स्पर्धाहरूमा ९ वटा नयाँ राष्ट्रिय कीर्तिमानहरू कायम भएका छन्।

२४ जेठ, काठमाडौं। नेपाल प्रहरीले तेस्रो नेपाल अक्वाटिक्स काठमाडौं महानगर मेयर कप पौडी प्रतियोगितामा आइतबार टिम च्याम्पियनको उपाधि जितेको हो। उक्त प्रतियोगितामा निसर्ग वाटिका स्कुलले ७ सय ७८ अंकसहित दोस्रो स्थान हासिल गरेको छ। तेस्रो स्थानमा रहेक‍ो एपीएफ क्लबले ५ सय ७६ अंक जोडेको छ। शीर्ष तीन टिमहरूले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरेका छन्।

प्रतियोगिता सातदोबाटोस्थित आउटडोर पौडी पोखरीमा भएको थियो। पुरुष वर्गमा एपीएफका जोडेन श्रेष्ठ र प्रहरीका इर्भिन श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए भने महिलाको उत्कृष्ट खेलाडी प्रहरीकी देभान्सी जोशी घोषित भएकी छिन्। जोडेन र इर्भिनले समान तीन–तीन स्वर्ण जीतेका छन् भने देभान्सीले ९ स्वर्ण र २ कांस्य पदक जितेकी छिन्। उत्कृष्ट खेलाडीहरूले जनही १५ हजार नगद पुरस्कार पाएको जानकारी दिइएको छ।

दुई दिनसम्म चलेको प्रतियोगितामा कुल ९ राष्ट्रिय कीर्तिमान बनेका छन्। जोडेन श्रेष्ठले ३ कीर्तिमान बनाएका छन् भने देभान्सी जोशी, सिशम्भुन राई, इरा अमात्य, सौरेनबहादुर सिंह, अभिभ प्रधान र डुवाना लामाले प्रत्येकले एक–एक राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। प्रत्येक कीर्तिमानका लागि ५ हजार नगद पुरस्कार दिइएको छ। विजेताहरूलाई काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल, नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, प्रतियोगिता संयोजक उमेश प्रधान लगायतले पुरस्कार वितरण गरेका छन्। प्रतियोगितामा ९४ पुरुष र ७८ महिला गरी कुल १७२ खेलाडीले प्रतिस्पर्धा गरेका छन्, पौडी संघका सचिव गंगालाल गोलेले जानकारी दिएका छन्।