
हिमालयन जाभा नेसनल बास्केटबल लिग २०२६ मा आर्मीले सोलोलाई १०३-६८ ले पराजित गर्दै सात खेलमा छैटौं जित हासिल गरेको छ। आर्मीले ६ जित र १ हारबाट १३ अंक जोडेर शीर्ष स्थानमा एकल अग्रता कायम गरेको छ भने टाइम्स इन्टरनेसनल, केभिसी हाउण्ड्स र गोल्डेनगेटका ११ अंक छन्। प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् र विजेताले ४ लाख नगद पुरस्कार पाउने छ भने उपविजेताले २ लाख र तेस्रोले १ लाख प्राप्त गर्नेछ। ९ चैत, काठमाडौं।
आर्मीले सोलो बास्केटबल क्लबलाई १०३-६८ को फराकिलो अन्तरले पराजित गरेको यो आर्मीको सात खेलमा छैटौं जित हो। आर्मीले ६ जित र १ हारबाट १३ अंक जोडेको छ। आर्मीपछि टाइम्स इन्टरनेसनल क्लब, केभिसी हाउण्ड्स, र गोल्डेनगेट समान ११ अंकका साथ छन्। सोलोको यो सात खेलमा पाँचौ हार हो र उनीहरू ७ खेलबाट ९ अंक लिएर पाँचौ स्थानमा छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा आर्मीले सोलोमाथि दबदबा कायम राख्यो। आर्मीले पहिलो क्वार्टर २४-१५ र दोस्रो क्वार्टर ३३-११ को स्कोर बनाएर हाफटाइममा ५७-२६ को फराकिलो अग्रता लिएको थियो। तेस्रो क्वार्टरमा २६-१९ को स्कोर लिएर आर्मीले अन्तिम क्वार्टरअघि ८३-४५ को अग्रता बनायो। अन्तिम क्वार्टरमा सोलोले २३-२० ले राम्रो प्रदर्शन गरे तापनि आर्मीको जितमा कुनै असर भएन। आर्मीका निश्चल महर्जनले सर्वाधिक २० अंक बनाए भने नुकेश जुगजाली म्यान अफ दि म्याच घोषित भए।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भइरहेको यस दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। डबल राउण्ड रोविन प्रणालीमा हुने यस लिगमा कुल ५६ खेल हुनेछ। लिग चरणपछि शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन्। प्लेअफमा लिग पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने तेस्रो र चौथो बीच एलिमिनेटर खेल हुनेछ। पहिलो क्वालिफायरमा हार्ने टोली र एलिमिनेटर विजेताबीच दोस्रो क्वालिफायर खेल हुनेछ। पहिलो र दोस्रो क्वालिफायर विजेताबीच फाइनल खेल तय हुनेछ। प्रतियोगिताको विजेताले नगद ४ लाख पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुने टोलीले १ लाख पाउनेछन्। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई मोस्ट भ्यालुएबल प्लेयर (एमभिपी) अवार्ड र आकर्षक पुरस्कार प्रदान गरिने नेबाले जनाएको छ।





