Skip to main content

राष्ट्रिय फुल कन्ट्याक्ट करातेमा आर्मी र एपीएफले समान २–२ स्वर्ण पदक जिते

प्रथम राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा नेपाल आर्मी र एपीएफले समान २–२ स्वर्ण पदक जितेका छन्। पुरुष खुला वर्गमा आर्मीका अमित महर्जन र ५५ केजीमुनि भुपेन्द्रबहादुर ओलीले स्वर्ण पदक जितेका छन्। महिला वर्गमा एपीएफकी अनिशा तामाङ र ५० केजीमुनि रिना माझीले स्वर्ण पदक जितेका छन्।

२४ जेठ, काठमाडौं। प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न यस प्रतियोगितामा नेपाल फुल कन्ट्याक्ट कराते महासंघको आयोजनामा पुरुष र महिलाको वर्गमा समान रूपमा २–२ गरी कुल ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो। पुरुष वर्गमा आर्मीले दुई स्वर्ण पदक जिते भने महिलाहरूको वर्गमा एपीएफले दुई स्वर्ण पदक हात पारेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभरहलमा सम्पन्न प्रतियोगितामा पुरुष खुला वर्गमा आर्मीका अमित महर्जन र ५५ केजीमुनि वर्गमा भुपेन्द्रबहादुर ओलीले स्वर्ण पदक जितेका छन्। महिला खुला वर्गमा एपीएफकी अनिशा तामाङ र ५० केजीमुनि वर्गमा एपीएफकी रिना माझीले पहिलो स्थान हासिल गरेकी छन्।

प्रतियोगिताका विजेतालाई राखेपका कार्यकारी समितिका पूर्व सदस्य भानबहादुर चन्द, राखेप सदस्य जगतसिंह धामी लगायतले पुरस्कृत गरेका थिए। दुई दिनसम्म चलेको प्रतियोगितामा सातै प्रदेश, नेपाल आर्मी र एपीएफका १२५ प्रतिस्पर्धी खेलाडीले सहभागिता जनाएका थिए, आयोजक महासंघका अध्यक्ष सूर्य बुढाथोकीले जानकारी दिएका छन्। प्रतियोगिताका चारै स्पर्धाका पदक विजेतालाई नगद पुरस्कार पनि प्रदान गरिएको थियो।