इरानको ऊर्जा स्थलमा हमलापछि होर्मुज स्ट्रेट पूर्ण बन्द गर्ने चेतावनी

इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले अमेरिकाबाट हमला भए होर्मुज स्ट्रेट पूर्णरूपमा बन्द गरिने चेतावनी दिएको छ। इरानका विदेशमन्त्री अब्बास अरघचीले हाल होर्मुज स्ट्रेट बन्द नरहेको तर अमेरिका र इजरायलको व्यवहारले उक्त मार्गबाट समुद्री जहाजहरूको आवागमनमा अवरोध सिर्जना गरेको बताएका छन्। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २१ मार्चमा ४८ घण्टाभित्र होर्मुज स्ट्रेट खुला नगरे पावर प्लान्टहरू नष्ट गरिने चेतावनी दिएका थिए।
इरानी मिडियामा जारी बयानमा आईआरजीसीले भनेको छ, ‘इरानका ऊर्जा स्थलमा हमला भए नष्ट भएका पावर प्लान्टहरूको पुनर्निर्माण हुँदासम्म होर्मुज स्ट्रेट बन्द गरिने छ।’ होर्मुज स्ट्रेट इरानसँग जोडिएको छ र यो फारसको खाडी, ओमानको खाडी र अरब सागर जोड्ने एकमात्र समुद्री मार्ग हो। यो मार्गबाट विश्वभर २० प्रतिशत पेट्रोलियम पदार्थको ओसारपसार हुन्छ। अमेरिका र इजरायलका हमलापछि इरानले यो मार्ग लगभग नाकाबन्दी गरेको छ जसका कारण आपूर्ति प्रभावित भएको छ र विश्व बजारमा तेलको मूल्य वृद्धि भएको छ।
आईआरजीसीले भनेको छ, ‘हामी इजरायलमा पावर प्लान्ट, ऊर्जा स्थल र आईटी लाई व्यापक रूपमा निशाना बनाउनेछौं। अमेरिकी पक्षका सबै कम्पनीहरूलाई निशाना बनाइनेछ।’ इरानका विदेशमन्त्री अब्बास अरघचीले भनेका छन्, ‘होर्मुज स्ट्रेट बन्द छैन। तेलवाहक जहाजहरूको बीमा गर्ने कम्पनीहरू वार अफ च्वाइस (war of choice) बाट डराएका छन्, जसको आरम्भ अमेरिका–इजरायलले गरेका हुन्, इरानले होइन।’
अरघचीले भने, ‘आदर गर्नुहोस्। व्यापारको स्वतन्त्रता बिना समुद्री मार्गको स्वतन्त्रता र आवागमनको कुनै अर्थ हुँदैन। दुवै पक्षलाई सम्मान गर्नुस्, नत्र फेरि कसैको अपेक्षा नगर्नुस्।’ इजरायलको परमाणु केन्द्र डिमोनाको नजिकै इरानी मिसाइल हमलाका कारण १६० भन्दा बढी घाइते भएका छन्। इजरायली वायुसेनाले गत २८ फेब्रुअरीमा इरानमाथि अमेरिकाको समर्थनमा इजरायलले गरेको हमलापछि इरानले अहिलेसम्म ४०० मिसाइल प्रहार गरेको बताएको छ।






