फिलिपिन्समा शक्तिशाली भूकम्प, धेरै घरहरु भत्किए, कम्तीमा एकजनाको मृत्यु

फिलिपिन्सको मिन्डानाओ टापु नजिक सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा एक जनाको मृत्यु भएको छ। भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया र मलेसियाका तटीय क्षेत्रहरूमा तीन मिटरसम्म अग्लो सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ। भूकम्पका कारण प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ भने नागरिकहरूलाई तत्काल सुरक्षित र उच्च स्थानमा जान आग्रह गरिएको छ।
२५ जेठ, काठमाडौं। फिलिपिन्समा सोमबार बिहान गएको शक्तिशाली भूकम्पले धेरै घरहरु भत्किएका छन्। प्रारम्भिक विवरण अनुसार भूकम्पमा परेर कम्तीमा एक जनाको मृत्यु भएको छ र केही घाइते भएका छन्। उद्धार कार्य जारी रहेकाले क्षतिको पूर्ण विवरण आउन बाँकी छ। भूकम्पपछि धेरै क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।
फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओमा रहेको जनरल सान्तोस सहरको तटीय क्षेत्र नजिक आज बिहान भूकम्प गएको हो। स्थानीय समयअनुसार बिहान ७:३७ बजे (नेपाली समय अनुसार बिहान ५:२२ बजे) भूकम्प गएको हो। भूकम्पको वास्तविक तीव्रता र गहिराइबारे विभिन्न निकायले फरक फरक विवरण सार्वजनिक गरेका छन्।
फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानका अनुसार भूकम्प ७.० म्याग्निच्युडको थियो र यसको गहिराइ १० किलोमिटर थियो। तर अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको तीव्रता ७.८ म्याग्निच्युड र गहिराइ ३५ किलोमिटर रहेको जनाएको छ। जर्मनीको भूविज्ञान अनुसन्धान केन्द्रले पनि भूकम्पको तीव्रता ७.८ म्याग्निच्युड रहेको उल्लेख गर्दै यसको गहिराइ ५० किलोमिटर रहेको जनाएको छ। प्रशान्त महासागरको सुनामी वार्निङ सेन्टरले फिलिपिन्सका केही तटीय क्षेत्रमा ३ मिटरसम्म अग्ला छाल उठ्न सक्ने चेतावनी दिएको छ।
प्रशासनले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्कालै उच्च स्थानतर्फ जान आग्रह गरेको छ। अधिकारीहरूका अनुसार भूकम्पपछि थप परकम्प (आफ्टरसक) आइरहेको छ। फिलिपिन्स विश्वका सबैभन्दा बढी भूकम्प प्रभावित देशहरूमध्ये एक हो। यो प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित छ, जहाँ बारम्बार भूकम्प र ज्वालामुखी गतिविधिहरू हुने गर्छन्।






