इरानको मिसाइल हमलापछि तेल बजारमा ठूलो उतारचढाव, प्रतिब्यारेल ९७ डलर नाघ्यो

इरान र इजरायलबीचको सैन्य द्वन्द्वले अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड तेलको मूल्य ४.६२% ले बढेर प्रतिब्यारेल ९७.३९ डलर पुगेको छ। अमेरिकी कच्चा तेल डब्लूटीआईको मूल्य ४.३५% बढेर प्रतिब्यारेल ९४.४८ डलर कायम भएको छ। मध्यपूर्वको तनाव बढेपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्ने र नेपालमा महँगो हुने सम्भावना देखिएको छ। २५ जेठ, काठमाडौं।
इरानले इजरायलमाथि गरेको मिसाइल आक्रमण र त्यसपछि इजरायली वायुसेनाले जवाफी सैन्य कारबाही गर्दा विश्व बजारमा कच्चा तेलको मूल्य ठूलो मात्रामा वृद्धि भएको छ। सोमबार एसियाली बजार खुल्दै गर्दा ऊर्जा क्षेत्रमा देखिएको यो तीव्र उतारचढावले विश्व अर्थतन्त्रमा नयाँ चिन्ता थपेको छ। गत अप्रिलमा इरान, इजरायल र अमेरिकाबीच भएको संवेदनशील युद्धविराम सम्झौतापछि इजरायल भूभागमा मिसाइल प्रहार गरिएको यो पहिलो घटना हो, जसले मध्यपूर्वमा आपूर्ति अवरुद्ध हुने डरले बजारमा ‘प्यानिक बाइङ’ सुरु भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार समाचार तयार पार्दासम्म ब्रेन्ट क्रुड तेलको मूल्य ४.६२% बढेर प्रतिब्यारेल ९७.३९ अमेरिकी डलर पुगेको छ। अमेरिकी कच्चा तेल डब्लूटीआईको मूल्य पनि ४.३५% वृद्धि भएर प्रतिब्यारेल ९४.४८ डलर कायम रहेको छ। कच्चा तेलसँगै पेट्रोलियमका अन्य पदार्थहरूको मूल्यमा पनि उल्लेख्य वृद्धी देखिएको छ: पेट्रोलको मूल्य ३.३६% बढेर ३.१४ डलर पुगेको छ भने हिटिङ आयलको मूल्य ४.१२% ले वृद्धि भई ३.७३ डलर पुगेको छ। यद्यपि, प्राकृतिक ग्यासको मूल्य १.५९% ले सामान्य गिरावट आएको छ। पछिल्लो एक सातादेखि प्रतिब्यारेल ९५ डलर आसपासमा स्थिर रहेको तेलको मूल्य नयाँ सैन्य तनावसँगै ९७ डलर पार गरेको हो। मध्यपूर्व द्वन्द्व लामो समयसम्म रहँदा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर भन्दा माथि पुग्ने सम्भावना विश्लेषकहरूले बताएका छन्। तेलको मूल्य वृद्धिले नेपालजस्ता आयातमा निर्भर अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने र उपभोक्ता मूल्य तथा महँगो अझै बढ्ने अनुमान गरिएको छ।






