नेपाल पुलिस स्कुल र डीएभी स्कुलबीच यू–१६ क्रिकेट उपाधिका लागि फाइनल खेल हुने

समाचार सारांश यू–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस स्कुल र डीएभी स्कुलबीच मंगलबार फाइनल भिडन्त हुने भएको छ। सोमबार भएको सेमिफाइनल खेलहरूमा डीएभी स्कुलले जेम्सलाई ४४ रनले र पुलिस स्कुलले सैनिक आवासीय महाविद्यालयलाई ८ रनले पराजित गरेका छन्। काठमाडौं जिल्ला क्रिकेट संघद्वारा आयोजित यस प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। २५ जेठ, काठमाडौं।
तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यू–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस स्कुल र सुशील केडिया विश्व भारती स्कुल (डीएभी) भिड्ने भएका छन्। माथिल्लो मुलपानी क्रिकेट मैदानमा सोमबार सम्पन्न पहिलो सेमिफाइनलमा डीएभी स्कुलले जेम्स स्कुललाई ४४ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको डीएभीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३० रन बनाएको थियो। डीएभीका प्रसिद्ध जैशीले २८ बलमा ९ चौकासहित ४९ रनको उत्कृष्ट इनिङ्स खेले।
विराज जैसवालले ३७, सत्याम बस्नेतले १६ तथा मयंक शाहले १० रन जोडे। जेम्सका स्वराज चौलागाईंले ३ विकेट लिन सफल भएका थिए भने प्रगव पाण्डे, प्रचेत लखोटिया र अन्जन झाले समान १–१ विकेट लिए। १३१ रनको लक्ष्य पछ्याएको जेम्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८६ रन मात्र बनाउन सक्यो। स्वराज चौलागाईंले २७ रन बनाए पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन्। सुदिश पौडेलले १६ तथा प्रचेत लखोटियाले १५ रन थपे।
डीएभीका कुञ्जन आचार्यले २ विकेट लिए भने प्रसिद्ध जैशी, कमल शाही र केशव अग्रवालले समान १–१ विकेट लिए। प्रसिद्ध जैशीलाई ‘पिक पोइन्ट म्यान अफ द म्याच’ पुरस्कार प्रदान गरिएको छ। दोस्रो सेमिफाइनलमा पुलिस स्कुलले सैनिक आवासीय महाविद्यालयलाई ८ रनले पराजित गरी डीएभीसँगको फाइनल सुनिश्चित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको पुलिस स्कुलले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो। पुलिसका प्रियंशुकिशोर राउतले ३६ रनको योगदान दिए।
मोहम्मद अब्बास साफीले ३२, राकेशकुमार साहले अविजित २१ तथा सुनिल ठाकुरले २० रन जोड्न सफल भए। सैनिकका सफल सुदिश पौडेलले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए। आभाष केसी र रोशन तिवारीले समान २–२ विकेट लिए। १४७ रनको लक्ष्य पछ्याएको सैनिकले निर्धारित २० ओवरमा सबै विकेट गुमाउँदै १३८ रन मात्र बनाउन सके। राजदिप आचार्यले सर्वाधिक ६४ रन बनाए तापनि टोलीलाई जित दिलाउन सकेनन्। प्रियंशुकिशोर राउत, सुनिल ठाकुर, आर्यन साह, सुजित यादव र सागर सिंहले समान १–१ विकेट लिए। प्रियंशु ‘पिक पोइन्ट म्यान अफ द म्याच’ घोषित भए। अब प्रतियोगिताको उपाधिका लागि पुलिस स्कुल र डीएभीबीच मंगलबार फाइनल खेल हुने छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा बिहान १० बजेबाट खेल शुरु हुनेछ। काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा जेठ १९ गतेदेखि सुरु भएको प्रतियोगितामा २४ टोली सहभागी छन्।






