
दन्त चिकित्सक डा. मनु कार्कीले सन् २०१९ मा स्थापना गरेको ‘इको साथी नेपाल’ ले प्लास्टिकमुक्त र दिगो जीवनशैली प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याएको छ। नेपालमा वातावरण संरक्षण, दिगो उपभोग र प्लास्टिकमुक्त जीवनशैलीको विषयमा बढ्दो बहसको क्रममा ‘इको साथी नेपाल’ ले व्यवहारिक विकल्पहरू प्रस्तुत गर्दै फरक पहिचान बनाएको छ। यो अभियान सामाजिक र व्यावसायिक पहलका रूपमा वातावरणमैत्री जीवनशैली प्रवर्द्धनमा सक्रिय छ।
इको साथी नेपालको शुरुवात डा. कार्कीको ताइवान भ्रमणपछि भएको हो। सन् २०१८ मा ताइवान भ्रमण गर्दा उनले त्यहाँका मानिसहरूले प्लास्टिकको प्रयोग कम गर्ने, आफ्नै झोला बोकेर बजार जानेलगायत वातावरणप्रति जिम्मेवार व्यवहार अपनाउने देखिन्। नेपाल फर्केपछि वातावरणमैत्री उत्पादन खोज्दा सहज रूपमा उपलब्ध नभएको र अधिकांश विदेशी उत्पादनहरू अत्यधिक प्लास्टिक प्याकेजिङमा हुने अनुभवले उनलाई नेपालमै दिगो र वातावरणमैत्री विकल्प विकास गर्ने प्रेरणा दियो।
इको साथी नेपालको मुख्य उद्देश्य प्लास्टिकमुक्त जीवनशैलीलाई सरल र व्यवहारिक बनाउनु हो। कार्कीका अनुसार, नेपाली समाजमा पुन: प्रयोग गर्ने संस्कृति भए पनि पछिल्लो समय प्लास्टिक सामग्रीको प्रयोग बढ्दो छ। संस्थाले प्लास्टिकको विकल्प खोज्ने र उपभोक्तालाई त्यसतर्फ लाग्ने कार्यमा केन्द्रित छ। यस अभियानको प्रमुख पहलु ‘जिरो वेस्ट स्टोर’ हो, जहाँ ग्राहकले आफ्नै कन्टेनर लिएर आवश्यक सामग्री रिफिल गर्न सक्छन्। हाल फ्लोर क्लिनर, ह्यान्ड वाश र डिश वाशजस्ता उत्पादनहरू उपलब्ध छन्।
इको साथी नेपालले दैनिक जीवनमा प्रयोग हुने विभिन्न प्लास्टिक सामग्रीहरूको पर्यावरणमैत्री विकल्प पनि उपलब्ध गराउँदै आएको छ। बाँसबाट बनेका टूथब्रश, प्राकृतिक टुथ पाउडर, पुन: प्रयोग हुने मेटल रेजर, महिनावारी कप, डिश ब्रस, नेटल (सिस्नो) साबुन, चिउरीबाट बनेको डियोड्रेन्ट बाम आदि सामग्री स्टोरमा पाइन्छ। यी उत्पादनहरू बायो-इन्जाइम, सुन्तलाको अर्का तथा अन्य प्राकृतिक स्रोतबाट तयार पारिएका छन्।
इको साथी नेपालले वातावरणमैत्री सामग्रीको प्रयोगलाई पनि बढावा दिएको छ। बजारमा व्यापक रूपमा प्रयोग हुने पोलिएस्टर प्रेयर फ्ल्यागको विकल्पका रूपमा कपासबाट बनेका प्रेयर फ्ल्याग उपलब्ध गराइएको छ। यस अभियानको अर्को महत्वपूर्ण पक्ष सर्कुलर इकोनोमीको अवधारणा हो। डा. कार्कीका अनुसार वातावरण संरक्षणका लागि ठूलो लगानी वा कठिन प्रयास आवश्यक छैन। उनी भन्छिन्, ‘वातावरणमैत्री बन्ने कुरा महँगो होइन, सचेतनाको विषय हो, जुन सबैले अपनाउन सक्छन्।’






