Skip to main content

गण्डकी अस्पतालले निजामती कर्मचारीलाई स्वास्थ्य सेवा प्रदान गर्ने

कास्कीको पोखरास्थित गण्डकी अस्पतालबाट निजामती कर्मचारीहरूले अब स्वास्थ्य सेवा पाउन पाउने भएका छन्। सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पतालको सेवा प्रदेशस्तरमा विस्तार गर्ने नीति अवलम्बन गरेको छ। भरतपुर र नारायणी अस्पतालहरूबाट आजैदेखि निजामती कर्मचारीका लागि स्वास्थ्य सेवा सुरु भइसकेको छ। २५ जेठ, काठमाडौं।

गण्डकी अस्पतालबाट पनि निजामती कर्मचारीहरूले स्वास्थ्य उपचार सेवा पाउन सक्ने भएका छन्। निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल, काठमाडौं) ले प्रदान गर्ने सेवाहरू अब गण्डकी अस्पतालबाट पनि उपलब्ध गराइने भएका हुन्। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पतालको सेवा प्रदेशस्तरसम्म विस्तार गर्ने नीति अनुसार प्रदेश अस्पतालहरूबाट कर्मचारीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउने तयारीमा छ।

मधेश प्रदेशका लागि नारायणी अस्पताल, वीरगञ्ज (पर्सा) र बागमती प्रदेशका लागि भरतपुर अस्पताल, चितवनसँग यसअघि नै सम्झौता भइसकेको छ। उक्त दुवै अस्पतालबाट आजदेखि निजामती कर्मचारीहरूका लागि स्वास्थ्य सेवा सञ्चालनमा आएको मन्त्रालयले जानकारी गराएको छ।