चितवनको प्रहरी विद्यालय गर्मीका कारण बन्द, शिक्षकहरूले विद्यार्थीका घरमा भेटघाट गर्दै

अत्यधिक गर्मीका कारण चितवनस्थित नेपाल पुलिस स्कुल शान्तिपुरले ३१ जेठसम्म विद्यालय बन्द गरी गर्मी बिदा दिएको छ। बिदाको अवधिमा विद्यार्थीलाई पढाइमा सक्रिय राख्न र सचेतना फैलाउन विद्यालयका ३९ जना शिक्षकहरूले विद्यार्थीका घर घरमै पुगेर भेटघाट गरिरहेका छन्। शिक्षकहरूले विद्यार्थीको गृहकार्य, आचरण र अध्ययन वातावरणको अनुगमन गर्ने साथै अभिभावकलाई सुरक्षा र गर्मीबाट बच्ने उपायबारे सचेत गराइरहेका छन्। २५ जेठ, चितवन।
चितवनको भरतपुर-१४ मा रहेको नेपाल पुलिस स्कुल शान्तिपुरले अत्याधिक गर्मीका कारण गर्मी बिदा दिएको हो। तापक्रम बढेकाले विद्यालय तत्कालका लागि बन्द गरिएको भए पनि विद्यार्थीहरू घरमै बसेर विद्यालयले दिएको गृहकार्य गरिरहेका छन्। शिक्षकहरूले बिदा अवधिमा पनि विद्यार्थीको दैनिक गतिविधि, गृहकार्य, आचरण व्यवहार र अध्ययन वातावरणसम्बन्धी जानकारी सङ्कलन गर्दै गर्मीले पर्ने असर र बच्ने उपायहरूको बारेमा सचेतना फैलाइरहेका छन्। यसका लागि विद्यालयका ३९ जना शिक्षकहरूले समूह बनाएर घरघरमा पुगेर काम गरिरहेका छन्।
विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाका अनुसार अत्याधिक गर्मीका कारण दैनिक पठनपाठनमा समस्या आउने हुँदा तापक्रम कम नहुँदासम्म विद्यालयले गर्मी बिदा दिएको हो। शनिबार र आइतबार समेत छुट्टिसहित विद्यार्थीहरूले जम्मा ९ दिन (जेठ ३१ सम्म) घरमै बस्नुपर्ने भएकाले शिक्षकहरूलाई विद्यार्थीको घरमै पठाएर अध्ययन र गृहकार्यमा सहयोग गराइरहेका छन्। विद्यालयमा ७ सय विद्यार्थी अध्ययनरत छन्। कक्षा एकदेखि दशसम्म अध्यापन गरिने विद्यालयले बिदाको समयमा पनि विभिन्न गृहकार्य, कार्यपत्र तयारी र व्यवहारिक अभ्यासका कार्यक्रमहरूमा विद्यार्थीलाई संलग्न गराउँदै आएको छ।
शिक्षकहरूले विद्यार्थीका घर पुगेर अभिभावकसँग सीधा सम्पर्क गरी विद्यार्थीको अध्ययन अवस्था र पढाइप्रतिको रुचिलाई ध्यानमा राखेर समूह विभाजन गरी परिचालन गरिएको छ भनि थापाले जानकारी दिए। उनले भने, ‘यो फरक तरिका हो, जसले हामीलाई नयाँ अनुभव दिएको छ। अभिभावकको घर जान्दा आत्मियता बढेको महसुस भएको छ। विद्यार्थी अनुशासन, अध्ययन वातावरण र घरमै पठनपाठनको अवस्था बुझ्न सजिलो भएको छ।’ शिक्षकहरूले विद्यार्थीको घरमै गई पढाइमा सहयोग गर्नुका साथै अभिभावकलाई सुरक्षा सम्बन्धी सचेतना पनि दिइरहेका छन्। विद्यालय आउँदा हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण, घरेलु हिंसाले विद्यार्थी पढाइमा पार्ने असर, अभिभावकहरूले देखाउनुपर्ने आचार व्यवहार, सामाजिक सञ्जाल र लतका समस्या तथा सम्भावित अपराध जोखिमका विषयमा अभिभावक र विद्यार्थीलाई सचेत गराइरहेका छन्। समादेशक थापाका अनुसार विद्यालयले सुरक्षा, शिक्षा, अनुशासन र सामाजिकतासम्बन्धी विविध अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीलाई ज्ञान, सीप र कलामा प्रशिक्षण दिँदै आएको छ।






