Skip to main content

किम यो-जोङले अमेरिकाको आणविक निशस्त्रीकरणको मागलाई भ्रमपूर्ण भने

उत्तर कोरियाली नेताकी बहिनी किम यो-जोङले अमेरिकाको आणविक निशस्त्रीकरणको मागलाई ‘समय सान्दर्भिक नभएको एउटा भ्रम’ भएको बताएकी छन्। उनले उत्तर कोरियाको आणविक हतियारसम्पन्न देशको हैसियतलाई पछाडि हट्न नसकिने एउटा ‘लक्ष्मणरेखा’ भनेकी छिन्। किमले आफ्नो रक्षा र सार्वभौमसत्ताको सवालमा प्योङयाङले कहिल्यै कुनै सम्झौता नगर्ने कुरा स्पष्ट पारेकी छन्। २५ जेठ, काठमाडौं।
गत महिनाको राष्ट्रपति डोनाल्ड ट्रम्प र सी जिनपिङबीचको बैठक पश्चात् अमेरिकाले कोरियाली प्रायद्वीपलाई आणविक हतियारमुक्त बनाउने साझा लक्ष्यमा सहमति भएको बताएको थियो। यद्यपि चिनियाँ पक्षको आधिकारिक विज्ञप्तिमा यो विषयको कुनै उल्लेख थिएन। तर उत्तर कोरियाली सरकारी समाचार एजेन्सी ‘केसीएनए’ अनुसार उत्तर कोरियाली शासक किम जोङ उनकै बहिनी किम यो-जोङले अमेरिकी टिप्पणीलाई ‘झूटो सूचना’ भनेकी छिन्।
किम यो-जोङले अमेरिकाको आणविक निशस्त्रीकरणको मागलाई ‘समय सान्दर्भिक नभएको एउटा भ्रम’ (एनाक्रोनिस्टिक ड्रिम) को रूपमा उल्लेख गरेकी छन्। उनले भनिन्, ‘आत्मरक्षाका लागि आणविक युद्ध प्रतिरोध क्षमतालाई निरन्तर सुदृढ पार्नु अनिवार्य छ… विना सर्त पालना गरिने एउटा अपरिवर्तनीय र अन्तिम निर्णय हो।’ वर्कर्स पार्टीको जनरल अफेयर्स विभागकी प्रमुख समेत रहेकी किमले थपिन्, ‘उत्तर कोरिया को एक आणविक हतियारधारी देशको हैसियत अब पछाडि हट्न नसकिने एउटा लक्ष्मणरेखा हो। यसलाई कसैले स्वीकार गरोस् वा नगरोस्, यो एक अकाट्य यथार्थ हो।’ उत्तर कोरियाले आफ्ना आणविक हतियारहरूलाई आत्मरक्षाको मुख्य कडीको रूपमा सम्बोधन गर्दै आएको छ। किमले प्योङयाङले ‘आफ्नो रक्षा र सार्वभौमसत्ताको सवालमा कहिल्यै कुनै सम्झौता नगर्ने’ कुरा पनि स्पष्ट पारेकी छन्।