
एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण आगामी असोज ८ देखि १७ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ। आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन गरिने जानकारी दिएको छ। टेक्निकल डाइरेक्टर जगदिश भट्टले यस लिगले नेपालको महिला भलिबल विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
नेपालको पहिलो महिला फ्रेन्चाइज भलिबल प्रतियोगिता एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को तेस्रो संस्करण असोज ८ देखि १७ गतेसम्म काठमाडौंमा आयोजना गर्न लागिएको छ। आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले सोमबार प्रेस विज्ञप्तिमार्फत प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने जानकारी दिएको हो।
फ्रेन्चाइज टोली तथा सरोकारवालाहरूसँगको छलफल पछि दशैंअघि प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको आयोजकले जनाएको छ। स्तरोन्नति भइसकेको कभर्डहलमा हालै अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरका प्रतियोगिताहरू सफलतापूर्वक सम्पन्न भइसकेका कारण यस पटक काठमाडौंलाई प्रतियोगिता स्थलका रूपमा चयन गरिएको विज्ञप्तिमा उल्लेख छ।
इडब्लुभिएलले नेपाली महिला भलिबलको विकासमा महत्वपूर्ण योगदान दिने विश्वास आयोजकहरूले लिएको बताएका छन्। यसअघि पहिलो संस्करण काठमाडौं र दोस्रो संस्करण पोखरामा आयोजना गरिएको थियो। साविक विजेता कर्णाली यशविसले पहिलो र दोस्रो दुवै संस्करणमा उपाधि हासिल गरिसकेको छ। टेक्निकल डाइरेक्टर जगदिश भट्टले तेस्रो संस्करण अघिल्ला संस्करणहरूभन्दा अझ भव्य र प्रतिस्पर्धात्मक हुने दाबी गरेका छन्।






