कांग्रेसले भन्यो- चार लाख १७ हजार सदस्यता अद्यावधिक, अवरोध भए केन्द्रीय कार्यालयमा जानकारी दिनुहोस्

२५ जेठ, काठमाडौं। नेपाली कांग्रेसले सोमबार साँझ ५ बजेसम्म चार लाख १७ हजार ७५३ जनाले डिजिटल माध्यमबाट सदस्यता अद्यावधिक गरेको जानकारी दिएको छ। साथै थप ९८ हजार १४३ जनाले अद्यावधिक फाराम पेश गरेको दाबी गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो।
विज्ञप्तिमा अद्यावधिक गर्न योग्य ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्य रहेको उल्लेख छ। सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठक बसेर सदस्यता अद्यावधिक सम्बन्धमा ८ तथा नयाँ सदस्यता सम्बन्धमा २ निर्णय भएको जानकारी दिइएको छ। महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकमा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र अर्का महामन्त्री गुरुराज घिमिरे पनि उपस्थित थिए भन्ने विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा निर्णयअनुसार सदस्यता अद्यावधिकको अन्तिम मिति जेठ २८ तोकिएको छ। १५औं महाधिवेशन पूर्णरूपमा प्रविधिमै आधारित हुने भएकाले सबै क्रियाशील सदस्यको सदस्यता अद्यावधिक अनिवार्य रहेको भनिएको छ। सदस्यता अद्यावधिक गर्ने क्रममा कुनै तहबाट अवरोध भएमा केन्द्रीय कार्यालयलाई सिधै सम्पर्क गर्न आग्रह गरिएको छ। अनुशासन समितिको कारबाहीमा परेका, कांग्रेस छोडेर अन्य दलमा प्रवेश गरेका, आधिकारिक उम्मेदवारविरुद्ध विद्रोह गरेका उम्मेदवार र तिनका समर्थक तथा प्रस्तावकको सदस्यता अभिलेखबाट हटाइने निर्णय पनि उल्लेख गरिएको छ। पार्टी मातहतका समिति र निकायहरुलाई पनि सदस्यता अद्यावधिक गर्न निर्देशन गरिएको छ।






