Skip to main content

फिफा र एएफसीको कडा चेतावनी: एन्फामाथिको सरकारी हस्तक्षेप रोक्न नसके निलम्बन हुन सक्छ

२७ जेठ, काठमाडौं । विश्व फुटबलका सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) मा कुनै पनि किसिमको सरकारी हस्तक्षेप तुरुन्तै बन्द नगरे नेपाललाई अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताबाट तत्काल निलम्बन गर्ने चेतावनी दिएका छन्। एन्फाले पाँच दिनअगाडि (५ जुन २०२६) प्राप्त गरी हाल सार्वजनिक गरेको संयुक्त पत्रका अनुसार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गत जेठ २ गते (१५ मे) एन्फाको निलम्बन फुकुवा गरेको भए पनि चैत १२ गते (२५ मार्च) को अन्य निर्णयहरू अझै फिर्ता नगरेकाले समस्या कायम रहेको उल्लेख छ।

राखेपले एन्फालाई निर्वाचन रोक्न, विधान संशोधन गर्न र जिल्लास्तरीय संघहरूको निर्वाचन गराउन निर्देशन दिएको विषयलाई फिफा र एएफसीले ‘तेस्रो पक्षको अनुचित हस्तक्षेप’ भनेर ठहर गर्दै त्यसलाई खारेज गर्न आग्रह गरेको छ। फिफा र एएफसीले एन्फा महासचिव किरण राईमार्फत राखेपलाई लक्षित गर्दै जेठ २८ गतेभित्र राखेपको चैत १२ को निर्णय पूर्ण रूपमा खारेज गरिएको लिखित प्रतिबद्धता दिन भनेका छन्। यदि म्याद भित्र चित्तबुझ्दो जवाफ नआए नेपाललाई तत्काल निलम्बन गर्ने विषय फिफा काउन्सिलमा लैजाने स्पष्ट उल्लेख पत्रमा गरिएको छ।