
२७ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वर्गको दरबन्दीमा चौथो स्थानमा उक्लिएका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राख्दै बुधबार जारी गरेको नयाँ दरबन्दीमा दीपेन्द्र पाँचौं स्थानबाट चौथो स्थानमा पुगेका हुन् । उनको रेटिङ अंक हालसम्मकै उच्च २५६ पुगेको छ ।
नेपाली पुरुष टोलीले हालै सिंगापुरमा सम्पन्न एसियन गेम्स छनोटमा अपराजित रहँदै च्याम्पियन बनेको थियो । एसियन गेम्स छनोट प्रतियोगितामा दीपेन्द्रले ब्याटिङको धेरै अवसर पाएनन् । नेपालले खेलेका चारमध्ये दुई खेलमा मात्र ब्याटिङ गरेको उनले ४० रन बनाए र ४ विकेट लिए । अलराउन्डर दरबन्दीको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा कायम छन्, जसको रेटिङ अंक ३२८ छ । भारतका हार्दिक पान्ड्या दोस्रो स्थानमा छन् भने तेस्रो स्थानमा पाकिस्तानका सायम अयुब छन् । अजमतुल्लाह ओमरजाइ चारौं स्थानबाट पाँचौं स्थानमा झरेका छन् ।






