
२८ जेठ, चितवन । ‘नेपाल प्रहरीको सीआईडी हौँ’ भनी एक महिलामाथि सामूहिक बलात्कार गरी फरार रहेका अभियुक्तलाई चितवन प्रहरीले ८ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–७ निवासी सुमन दोङ वा सुमन तामाङ रहेका छन्। उनलाई खोजतलासको क्रममा इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार २०७५ असार ७ गते राति करिब २ बजे मोटरसाइकलमा आएका दुई पुरुषले एक महिलालाई जंगलमा लगेर जबरजस्ती करणी गरेका थिए। उनीहरूले आफूलाई इलाका प्रहरी कार्यालय टाँडीका ‘सीआईडी प्रहरी’ भएको बताउँदै पीडितका नाबालक छोरा पनि मोटरसाइकलमा राखेर प्रहरी कार्यालयतर्फ लैजाने भन्दै जंगलमा लगेर जबरजस्ती करणी गरेका थिए।
सो घटनामा संलग्न कालिका नगरपालिका–३ निवासी पुटम थिङलाई प्रहरीले पहिले नै पक्राउ गरी अनुसन्धानपछि चितवन जिल्ला अदालतले अपहरण र जबरजस्ती करणी मुद्दामा १९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो। अर्का अभियुक्त सुमन तामाङ भने फरार थिए। उनलाई खोजतलासकै क्रममा इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडीबाट खटिएको टोलीले जेठ २२ गते पक्राउ गरेको हो। पक्राउ परेको तामाङलाई चितवन जिल्ला अदालतमा पेश गर्दा, अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरी जनाएको छ।





