Skip to main content

ओमानको खाडीमा अमेरिकी आक्रमणमा तीन भारतीय नागरिकको मृत्यु

ओमानको खाडीमा अमेरिकी सैन्य आक्रमणमा तीन भारतीय नागरिकको मृत्यु भएको छ। भारत सरकारले घटनाप्रति कडा आपत्ति जनाउँदै नयाँदिल्लीस्थित अमेरिकी दूतावासका कार्यवाहक प्रमुखलाई बोलाएर विरोध दर्ता गरेको छ। अमेरिकी सेनाले नाकाबन्दी उल्लंघन गरेको आरोपमा इरानबाट तेल ढुवानी गरेको जहाजमाथि आक्रमण गरेको जनाएको छ। २८ जेठ, काठमाडौं।

ओमानको खाडीमा रहेको एक तेल ट्यांकरमाथि भएको अमेरिकी सैन्य आक्रमणमा तीन भारतीय नागरिकको मृत्यु भएको छ। प्रारम्भमा बेपत्ता भएका ती तीन भारतीय नागरिकका शव फेला परेका छन् भन्ने जानकारी भारतका बन्दरगाह, जलमार्ग तथा यातायात मन्त्री सर्बानन्द सोनोवालले बिहीबार दिएका छन्। सोनोवालले ट्वीटमा लेखेका छन्, ‘यो हाम्रो लागि अपूरणीय क्षति हो। यस कठिन समयमा मोदी सरकार शोकग्रस्त परिवारहरूसँग दृढतापूर्वक उभिएको छ। मृतकका परिवारलाई आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध छ। उद्धार गरिएका चालकदलका सदस्यहरूलाई तुरुन्त स्वदेश फर्काउने र मृतक नाविकहरूको शव चाँडै भारत ल्याएर अन्तिम संस्कार सुनिश्चित गर्ने व्यवस्था गर्न मैले सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएको छु।’

घटनापछि भारतको विदेश मन्त्रालयले नयाँदिल्लीस्थित अमेरिकाको दूतावासका उपप्रमुखलाई बोलाएर आक्रमणप्रति कडा आपत्ति जनाएको छ। भारतस्थित अमेरिकी राजदूत सर्जियो गोर काजाकिस्तान भ्रमणमा रहेका कारण अमेरिकी दूतावासका कार्यवाहक प्रमुख जेसन मिक्सलाई बोलाइएको थियो। अमेरिकी आक्रमणमा परेका भारतीयलाई ओमानी सेनाले सुरक्षित रूपमा उद्धार गरेको बताइएको छ। अमेरिकी सेन्ट्रल कमाण्डले पलाउ झण्डा भएको सेटेबेलो ट्यांकरले इरानबाट तेल ढुवानी जारी राखेर नाकाबन्दी उल्लंघन गरेकाले आक्रमण गरेको जनाएको छ। कमाण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी सेनाले पटक–पटक चेतावनी दिए पनि चालकदलले बेवास्ता गरेपछि एक अमेरिकी विमानले जहाजको इन्जिनलाई लक्षित गरी सटीक हतियार प्रहार गरेको हो।’

यस घटनाले खाडी क्षेत्रमा जारी द्वन्द्व र समुद्री व्यापार मार्गको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ। अप्रिल १३ देखि अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी थालेको थियो। तेहरानले होर्मुज जलडमरूमध्य हुँदै हुने जहाज आवागमनमा नियन्त्रण कडा बनाएपछि यो कदम चालिएको थियो। यस घटनाले खाडी क्षेत्रमा बढ्दो सैन्य तनाव, समुद्री व्यापारको सुरक्षा तथा विदेशी द्वन्द्वमा परेका भारतीय नाविकहरूको सुरक्षाबारे नयाँ चिन्ता उत्पन्न गरेको छ। यसबीच इरान र अमेरिकाबीच तनाव कम हुने कुनै संकेत देखिएको छैन। अमेरिकाले इरानमाथि पुनः आक्रमण सुरु गरेको छ। यो द्वन्द्व फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि सुरु भएको थियो। ती आक्रमणमा इरानका सर्वोच्च नेताको मृत्यु भएको थियो। जवाफमा इरानले इजरायल तथा अमेरिकाका खाडी क्षेत्रीय सहयोगी देशहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण सुरु गरेको थियो। त्यसपछि द्वन्द्व तीव्र रूपमा फैलिँदै मार्चमा लेबनानसमेत यसको प्रभावमा परेको थियो। अप्रिलमा अमेरिका र इरानले दुई साताका लागि युद्धविराममा सहमति जनाएका थिए, तर लगातार आरोप–प्रत्यारोप, नयाँ आक्रमण र बढ्दो अविश्वासका कारण उक्त युद्धविराम कमजोर भयो र पुनः ठूलो सैन्य टकरावको जोखिम कायम छ।