
फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण कोरिया र चेक रिपब्लिकबीचको खेल २९ जेठमा मेक्सिकोको ग्वाडालजारा रंगशालामा हुने भएको छ। एसियाली राष्ट्र दक्षिण कोरिया लगातार ११औं पटक विश्वकप खेल्दैछ भने चेक रिपब्लिक २० वर्षपछि विश्वमञ्चमा फर्किएको छ। फिफा वरीयताको २५औं स्थानमा रहेको दक्षिण कोरिया र ४०औं स्थानमा रहेको चेक रिपब्लिकबीच विश्वकप इतिहासमा यो पहिलो भेट हो। २८ जेठ, काठमाडौं।
फिफा विश्वकप २०२६ को दोस्रो खेल दक्षिण कोरिया र चेक रिपब्लिकबीच हुँदैछ। मेक्सिकोको ग्वाडालजारा रंगशालामा हुने उक्त खेल शुक्रबार बिहान पौने ८ बजेबाट सुरु हुनेछ। विश्वकपको इतिहासमा यी दुई टोलीबीच हुन लागेको यो नै पहिलो भेट हो। अन्य प्रतियोगितामा भने यी दुई टोलीबीच ३ खेल भएका छन्। दुवै टोलीले एक-एक जित निकाल्दा एक खेल बराबरीमा सकिएको छ। उनीहरूको अन्तिम भेट २०१६ मा भएको थियो, जहाँ दक्षिण कोरिया २–१ ले जितेको थियो।
दक्षिण कोरियाले एएफसी छनोट चरणका १६ खेलहरूमा अपराजित रहँदै मात्र ८ गोल खाएर आफ्नो प्रभुत्व जमाएको थियो। चेक रिपब्लिक आफ्नो समूहमा क्रोएसियाभन्दा पछि रहँदै दोस्रो स्थानमा रह्यो र प्लेअफमा रिपब्लिक अफ आयरल्यान्ड र डेनमार्कलाई पेनाल्टी सुटआउटमा हराउँदै कठिन परिस्थितिमा नतिजा निकाल्ने क्षमता देखाएको हो। दुवै टोलीको खेल्ने शैली फरक-फरक भएकाले यो खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।






