‘नेपालको एजेन्डालाई विश्वव्यापी बनाउन कूटनीतिक सिप सम्पन्न युवाको आवश्यकता’

काठमाडौं विश्वविद्यालयसँग आबद्ध नेसनल कलेजले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा दक्ष जनशक्ति उत्पादन गर्न नयाँ स्नातक कार्यक्रम सुरु गरेको छ। पूर्वराजदूत प्राध्यापक डा. श्रीधर खत्रीले नेपालको एजेन्डालाई विश्व मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्न कूटनीतिक सिप भएका युवाको आवश्यकता रहेको बताए। कार्यक्रम प्रमुख श्वेता कार्कीले विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गर्न पाठ्यक्रममा कूटनीतिक सिमुलेसन, शैक्षिक भ्रमण र इन्टर्नसिप समावेश गरिएको जानकारी दिएकी छिन्। २८ जेठ, काठमाडौं।
नेपालका लागि अमेरिकाका पूर्वराजदूत प्राध्यापक डा. श्रीधर खत्रीले नेपालले विश्व मञ्चमा आफ्नो एजेन्डा प्रभावकारी रूपमा प्रस्तुत गर्न अन्तर्राष्ट्रिय दृष्टिकोण र कूटनीतिक सिप भएका युवाको आवश्यकताबारे बताएका छन्। खत्रीले बिहीबार काठमाडौं विश्वविद्यालयसँग आबद्ध नेसनल कलेजले सुरु गरेको ‘ब्याचलर इन इन्टरनेसनल रिलेसन्स एन्ड डिप्लोमेसी’ (बर्ड) कार्यक्रमको उद्घाटन समारोहमा उक्त विचार राखेका हुन्।
अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति, विदेश नीति, व्यापार, अर्थराजनीति तथा भूराजनीतिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित कलेजले नयाँ स्नातक कार्यक्रम सञ्चालनमा ल्याएको हो। कार्यक्रममा कूटनीतिज्ञ, विदेश मामिला विश्लेषक, शिक्षाविद्, सरकारी अधिकारी तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थितिको कायमै थियो।
कार्यक्रममा डा. खत्रीले विश्व राजनीति र अर्थतन्त्र दिनप्रतिदिन जटिल हुँदै गइरहेको उल्लेख गर्दै नेपालले पनि अन्तर्राष्ट्रिय मामिलालाई गहिरोसँग बुझ्न सक्ने दक्ष जनशक्ति तयार गर्नुपर्ने आवश्यकता औँल्याए। उनले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिमा केन्द्रित स्नातक कार्यक्रम नेपालका लागि समयानुकूल पहल भएको उल्लेख गर्दै यसले भावी पुस्तालाई विश्वव्यापी चुनौती र अवसर बुझ्न सक्षम बनाउने विश्वास व्यक्त गरे।
कलेजका प्रिन्सिपल माधवप्रसाद न्यौपानेले नेपालमा कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन गर्न चाहने विद्यार्थीका लागि विशेष स्नातक कार्यक्रमको अभाव रहेको अवस्थामा ‘बर्ड’ कार्यक्रमले त्यो रिक्तता पूरा गर्ने बताए। उनका अनुसार कार्यक्रमले विद्यार्थीलाई केवल सैद्धान्तिक ज्ञान मात्र नभई नीति निर्माण, अन्तर्राष्ट्रिय संवाद र कूटनीतिक अभ्यासका लागि पनि तयार गर्नेछ।
कार्यक्रम प्रमुख श्वेता कार्कीले पाठ्यक्रमबारे जानकारी दिँदै अध्ययनलाई व्यावहारिक बनाउने उद्देश्यले कूटनीतिक सिमुलेसन, क्षेत्रीय अध्ययन भ्रमण, इन्टर्नसिप तथा नीति विश्लेषण अभ्यास समावेश गरिएको बताइन्। ‘विद्यार्थीले कक्षाकोठाभित्र सिकेको ज्ञानलाई वास्तविक परिस्थितिसँग जोड्न सकून् भन्ने हाम्रो प्रयास हो,’ उनले भनिन्।
समारोहमा पूर्वराजदूत डा. दिनेश भट्टराई, विदेश मामिला विश्लेषक डा. निश्चलनाथ पाण्डे तथा अवकाशप्राप्त प्रमुख सेनानी डा. पूर्णबहादुर सिलवालले पनि मन्तव्य राखेका थिए। उनीहरूले बदलिँदो विश्व परिवेशमा संस्थागत कूटनीतिक शिक्षाको आवश्यकता बढ्दो छ भन्दै नयाँ कार्यक्रमले नेपालमा अन्तर्राष्ट्रिय अध्ययनको क्षेत्रलाई थप सुदृढ पार्ने धारणा व्यक्त गरे।
कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कूल अफ आट्र्सका पूर्व डिन प्राध्यापक डा. महेश बास्कोटाले ‘बर्ड’ कार्यक्रमले अनुसन्धान, नीति विश्लेषण तथा अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।






