
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत मेडिकल हाउस अफिसर र निमित्त उपकुलपतिबीच चार बुँदामा सहमति भएपछि उनीहरू पुनः काममा फर्किएका छन्। हाउस अफिसरहरूले तलब कम भएको भन्दै २५ जेठदेखि उपकुलपति कार्यालय परिसरमा धर्ना दिएर आन्दोलन गरिरहेका थिए। प्रतिष्ठानमा पदाधिकारी नियुक्ति र कार्यकारिणी समिति गठन भएपछि पहिलो बैठकमै माग सम्बोधनका लागि सिफारिस गर्ने सहमति भएको छ।
२८ जेठ, सुनसरी। आन्दोलनरत मेडिकल हाउस अफिसर समूह र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपतिबीच बिहीबार चारबुँदे सहमति भएको छ। सहमति भएपछि हाउस अफिसरहरू काममा फर्किएका छन्। प्रतिष्ठानका निमित्त उपकुलपति डा. ईन्द्र लिम्बूका अनुसार माग सम्बोधनका लागि पदाधिकारी नियुक्ति र कार्यकारिणी समिति (कास) गठन पछि पहिलो बैठकमा यस सम्बन्धमा सिफारिस गरिने सहमति भएको छ।
उनले भने, ‘हाल बीपी प्रतिष्ठान पदाधिकारीविहीन छ। कास पनि गठन भइसकेको छैन। उनको माग सम्बोधन गर्न पूर्णकालीन पदाधिकारी र कासको अधिकार क्षेत्र पर्ने भएकाले पदाधिकारी नियुक्ति र कास गठनसँगै सिफारिस गर्ने सहमति भएको हो।’ मेडिकल अफिसरहरूले आफूलाई आधारभूत तलब ३४ हजार ५ सय मात्र दिइएको र यो रकम वर्तमान आर्थिक अवस्था, कार्यभार र पेशागत जिम्मेवारीसँग मेल नखाने भन्दै आन्दोलन गरेका थिए।
हाउस अफिसरहरूले २५ जेठदेखि उपकुलपति कार्यालय परिसरमा धर्ना दिएका थिए। सहमतिअनुसार नेपाल सरकारबाट राष्ट्रसेवक कर्मचारीहरूलाई उपलब्ध गराइएको साउन २०८२ देखि लागू भएको ३ हजार रुपैयाँ बढुवाको भत्ता प्रतिष्ठानका सबै शिक्षक र कर्मचारीलाई हालसम्म उपलब्ध नगराइएको र सबैलाई दिने गरी हाउस अफिसरलाई पनि उपलब्ध गराउने सिफारिस गरिने सहमति भएको छ। दुबै पक्षीय सहमतिमा निमित्त उपकुलपति डा. लिम्बू, विभागीय प्रमुखहरू जस्तै सर्जरी विभाग प्रमुख प्राडा शैलेश अधिकारी, स्त्री तथा प्रसूति विभागका एसोसिएट प्रोफेसर डा. सूर्यप्रसाद रिमाल, हाउस अफिसर डा. पुजन पोखरेल, डा. प्रागेस महतो, डा. विवेक मिश्र र निर्देशक यादवले हस्ताक्षर गरेका छन्।






