Skip to main content

नेपाल बास्केटबल संघ र लिनिङबीचको सम्झौतामा ४ वर्षको नवीकरण, राष्ट्रिय टिमको नयाँ जर्सी सार्वजनिक

नेपाल बास्केटबल संघ र चिनियाँ खेलकुद सामग्री निर्माता कम्पनी लिनिङबीचको प्रायोजन सम्झौता थप ४ वर्षका लागि नवीकरण भएको छ। सम्झौताअनुसार लिनिङले नेपालको राष्ट्रिय महिला, पुरुष र यू-१८ बास्केटबल टोलीलाई आवश्यक सबै खेल सामग्री उपलब्ध गराउनेछ। सम्झौता नवीकरणसँगै राष्ट्रिय टोलीका कप्तानहरूले नयाँ जर्सी सार्वजनिक गरेका छन्। २८ जेठ, काठमाडौं। नेपाल बास्केटबल संघ (नेबा) ले चिनियाँ स्पोर्ट्स सामाग्री उत्पादन कम्पनी लिनिङसँगको प्रायोजन सम्झौता नवीकरण गरेको छ। नेबाले बिहीबार लिनिङ नेपालको आधिकारिक विक्रेता चाइना ट्रेडिङ कम्पनी (सिटिसी) सँग प्रायोजन सम्झौता थप चार वर्षका लागि नवीकरण गरेको हो। दुवै पक्षबीच सन् २०२२ मा चार वर्षको सम्झौता भएको थियो, जसलाई निरन्तरता दिँदै थप चार वर्षको लागि सम्झौता नवीकरण गरिएको नेबा अध्यक्ष भीमसिंह गुरुङले जानकारी दिए। सम्झौतामा नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ र चाइना ट्रेडिङ कम्पनी (सीटीसी) का प्रमुख कार्यकारी अधिकारी राजेन महर्जनले हस्ताक्षर गरे। सम्झौता कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहता, युवा तथा खेलकुद मन्त्रालयका सल्लाहकार सिद्धि व्यञ्जनकार, राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंह पनि उपस्थित थिए। सम्झौताअनुसार लिनिङले नेपालको सिनियर राष्ट्रिय महिला र पुरुष टिमसँगै यू-१८ उमेर समूहको टोलीका लागि अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा जर्सी लगायत सबै खेल सामाग्री उपलब्ध गराउनेछ। सम्झौता कार्यक्रममा नेपाली राष्ट्रिय बास्केटबल टोलीको रातो, निलो र सेतो रंगको नयाँ जर्सी पनि सार्वजनिक गरियो। नेपाली राष्ट्रिय बास्केटबल पुरुष टोलीका कप्तान सदीश प्रधान, महिला टोलीकी कप्तान अनुशा मल्ल र लिनिङकी ब्रान्ड एम्बासडर तथा राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला सुब्बाले जर्सी अनावरण गरेका थिए। नेबाका अध्यक्ष भीमसिंह गुरुङले सहकार्य निरन्तर गर्नु भएकामा लिनिङलाई धन्यवाद दिँदै, यसले बास्केटबललाई अगाडि बढाउन सहयोग पुग्ने बताए। उनले बास्केटबल खेललाई सरकारले प्राथमिकतामा नराखेको र कुहर्डहलको अभाव रहेको गुनासो पनि गरे।