
नेपाल लेयर्स कुखुरापालक संघले उत्पादन लागत र बजार मागलाई ध्यानमा राख्दै देशभरका लागि अन्डाको समर्थन मूल्यमा प्रति दर्जन १५ रुपैयाँ वृद्धि गरेको छ। नयाँ मूल्यतालिका अनुसार एक्सएल अन्डाको मूल्य प्रति दर्जन ५७५, ठूलो अन्डाको ५६० र मिडियम अन्डाको ५३० रुपैयाँ कायम गरिएको छ। अन्डाको थोक मूल्य बढ्दा पनि उपभोक्ताले खरीद गर्ने खुद्रा मूल्यमा हाल कुनै परिवर्तन गरिएको छैन, संघले जनाएको छ।
२८ जेठ, काठमाडौं। ५ दिनमा फेरि अन्डाको मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको समर्थन बिक्री मूल्य शुक्रबारदेखि लागू हुने गरी पुनः वृद्धि गरेको हो। यसअघि संघले २३ जेठदेखि लागु हुने गरी मूल्य तोकेको थियो। काठमाडौंमा सम्पन्न अन्डा उत्पादकहरूको भौतिक तथा भर्चुअल बैठकले उत्पादन लागत र बजार मागलाई मध्यनजर गर्दै देशभरका लागि चितवनलाई आधार मानेर नयाँ मूल्य निर्धारण गरेको संघका सचिव मदन पोखरेलले जानकारी दिए।
नयाँ मूल्यसूची अनुसार सबै प्रकारका अन्डाको फार्म मूल्यमा प्रति दर्जन १५ रुपैयाँ वृद्धि भएको छ। २३ जेठमा लागू भएको दर अनुसार ५६० रुपैयाँ रहेको एक्सएल अन्डाको मूल्य अहिले प्रति दर्जन ५७५ रुपैयाँ पुगेको छ। त्यसैगरी ५४५ रुपैयाँ रहेको ठूलो अन्डाको मूल्य बढेर ५६० र ५१५ रुपैयाँ रहेको मिडियम अन्डाको मूल्य बढेर ५३० कायम गरिएको छ। सानो अन्डाको मूल्यमा पनि प्रति दर्जन २०० रुपैयाँ वृद्धि भएर ३२०० पुगेको छ, जुन अघिल्लो मूल्य ३००० थियो।
अन्डाको फार्म मूल्य (थोक मूल्य) लगातार बढे पनि उपभोक्ताले तिर्ने खुद्रा मूल्यमा हाल कुनै परिवर्तन गरिएको छैन। संघका अनुसार उपभोक्ताले अझै पनि प्रति वटा २५ रुपैयाँमै अण्डा किन्ने पाउनेछन्। संघले सबै व्यवसायी, फार्म सञ्चालक र सरोकारवालालाई नयाँ मूल्य अनुसार नै कारोबार अघि बढाउन अनुरोध गर्दै बजारमा अन्डा आपूर्ति र मागको सन्तुलन मिलाउन यो कदम चालिएको जानकारी दिएको छ।






