
फोटो क्रेडिट : Royal Household Bureau थाइल्याण्डकी राजकुमारी बजरकितियाभाको ४७ वर्षको उमेरमा निधन भएको शाही दरबारले जानकारी दिएको छ। सन् २०२२ डिसेम्बरमा अचानक बेहोस भएकी उनी मुटुको धड्कन अनियमित हुँदा विगत तीन वर्षभन्दा बढी समयदेखि कोमामा थिइन्। कानुन विषय पढेकी उनले अष्ट्रियाका लागि राजदूत र थाइल्याण्डको फौजदारी न्याय प्रणाली सुधारका क्षेत्रमा काम गरेकी थिइन्। २९ जेठ, काठमाडौं। थाइल्याण्डकी राजकुमारी बजरकितियाभा अब निधन भइसकेकी छिन्। उनी तीन वर्षभन्दा बढी समयदेखि कोमामा थिइन्। उनको ४७ वर्षको उमेरमा मृत्यु भएको शाही दरबारले घोषण गरेको छ। सन् २०२२ डिसेम्बरमा आफ्ना कुकुरहरूलाई व्यायाम गराइरहेको बेला उनी अचानक बेहोस भएकी थिइन्। चिकित्सकहरूका अनुसार उनको मुटुमा भएको माइकोप्लाज्मा संक्रमणका कारण मुटुको धड्कन अत्यन्तै अनियमित भएको थियो, जसले गर्दा उनी बेहोस भएकी थिइन्। त्यसयता उनी कोमामा थिइन्। शुक्रबार बिहान जारी गरिएको दरबारको वक्तव्यमा भनिएको छ, ‘चिकित्सकहरूको टोलीले सम्भव भएसम्मको सबैभन्दा नजिकबाट र सघन उपचार प्रदान गर्यो, तर उनको स्वास्थ्य अवस्था क्रमशः बिग्रँदै गयो।’ वक्तव्यअनुसार उनको बिहीबार साँझ स्थानीय समयअनुसार ७:४८ बजे निधन भएको हो। उनका निधनसँगै थाइल्याण्डको शाही परिवारले आफ्नो सबैभन्दा सक्षम र सार्वजनिक रूपमा सक्रिय सदस्य गुमाएको छ। साथै, भविष्यमा शाही उत्तराधिकारको प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्न सक्ने व्यक्तित्व पनि गुमेको विश्लेषण गरिएको छ। उनी राजा वजिरालोङकोर्नका सात सन्तानमध्ये जेठी छोरी थिइन्। उनको जन्म ७ डिसेम्बर १९७८ मा राजाकी पहिलो पत्नी तथा नातेदार राजकुमारी सोअमसावालीबाट भएको थियो। राजकुमारी बजरकितियाभाले कानुन विषयमा अध्ययन गरेकी थिइन्। उनले अमेरिकाबाट दुईवटा स्नातकोत्तर उपाधि हासिल गरेकी थिइन्। त्यसपछि उनले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघमा थाइल्याण्डको स्थायी नियोगमा केही समय काम गरेकी थिइन्। पछि थाइल्याण्ड फर्किएर बैंकक तथा अन्य क्षेत्रका महान्यायाधिवक्ताको कार्यालयमा पनि काम गरेकी थिइन्। सन् २०१२ देखि २०१४ सम्म उनी अष्ट्रियाका लागि थाइल्याण्डकी राजदूत थिइन्। उनी विशेष गरी जेलमा रहेका कमजोर अवस्थाका महिलाहरूको पक्षमा आवाज उठाउँदै कारागार सुधारको आवश्यकता औँल्याएकी थिइन्। थाइल्याण्डमा महिला कैदीहरूको संख्या विश्वकै उच्चमध्ये एक मानिन्छ। थाइल्याण्ड फर्किएपछि पनि उनले थाइल्याण्डको फौजदारी न्याय प्रणालीमा सुधारको वकालत गरिरहिन्, जहाँ सामान्य लागुऔषध राख्ने अभियोगमा समेत कडा सजाय दिइन्छ। सन् २०२१ मा उनका पिता राजा वजिरालोङकोर्नले उनलाई आफ्नो निजी अंगरक्षक दस्ताको प्रमुख कर्मचारी (चीफ अफ स्टाफ) नियुक्त गर्दै जनरलको दर्जा प्रदान गरेका थिए। राजकुमारी बजरकितियाभा फिटनेस प्रेमी पनि थिइन्। उनी लामो दूरीको दौड प्रतियोगिताहरूमा नियमित रूपमा सहभागी हुने गर्थिन्।






