Skip to main content

क्यानडा र बोस्निया विजयी सुरुवातको लक्ष्यमा

फिफा विश्वकप २०२६ अन्तर्गत घरेलु मैदान टोरन्टो स्टेडियममा सहआयोजक क्यानडा र बोस्निया एण्ड हर्जगोभिनाबीच शनिबार पहिलोपटक खेल हुँदैछ। अहिलेसम्म विश्वकपका ६ खेलमा हार व्यहोरेको क्यानडा यसपटक घरेलु मैदानमा पहिलो जित निकाल्ने योजनामा छ। युइएफए प्लेअफमा इटालीलाई पराजित गरेको बोस्निया एण्ड हर्जगोभिना भने १२ वर्षपछि विश्वकपमा पुनरागमन गर्दैछ। २९ जेठ, काठमाडौं। फिफा विश्वकप २०२६ को दोस्रो दिन सहआयोजक क्यानडाले बोस्निया एण्ड हर्जगोभिना विरुद्ध खेल्न जाँदा पहिलो जित निकाल्ने लक्ष्य राखेको छ। अमेरिका र मेक्सिकोसँगै सहआयोजक रहेको क्यानडाले घरेलु मैदानमा पहिलो पटक विश्वकप खेल्न लागेको हो। यो खेल टोरन्टो स्टेडियममा नेपाली समय अनुसार शनिबार बिहान पौने १ बजे सुरु हुनेछ। हालसम्म विश्वकपमा कुनै पनि खेल जित्न नसकेको क्यानडाले घरेलु मैदानको फाइदा लिन पहिलो जित निकाल्ने योजनामा छ। यी दुई राष्ट्रहरू फुटबलको अन्तर्राष्ट्रिय मैदानमा समेत पहिलो पटक भिड्दै छन् र दुवै टोलीले सुखद सुरुवात गर्ने लक्ष्य राखेका छन्।

विश्वकप आयोजना गर्न पहिलोपटक सफल भएको क्यानडाले लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक विश्वकप खेल्दैछ। बोस्निया एण्ड हर्जगोभिना भने १२ वर्षपछि फेरि विश्वकपमा प्रतिस्पर्धा गर्दैछ। सन् १९८६ को विश्वकपमा डेब्यु गरेको क्यानडाले पछिल्लो पटक सन् २०२२ को कतार विश्वकप खेलेको थियो र यो लगातार दोस्रो विश्वकप हो। कतारमा सिधै छनोट भएको क्यानडाले यसअघि खेलेका सबै ६ खेलमा हार व्यहोरेको छ र दुवै पटक समूह चरणमा बाहिरिएको थियो। अहिलेसम्म ६ खेलमा कुल दुई गोल मात्र गरेको क्यानडाको प्रदर्शन कमजोर रहँदै आएको छ। सन् २०१४ मा डेब्यु गरेको बोस्नियाले यसपटक युइएफए प्लेअफमा चार पटकका विजेता इटाललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विश्वकप यात्रा तय गरेको हो।

डेब्यु विश्वकपमा बोस्नियाले अर्जेन्टिना र नाइजेरियालाई पराजित गराउन सकेन तर इरानलाई ३-१ ले हराएर समूहबाट बाहिरिएको थियो। यो बोस्नियाको पहिलो विश्वकप खेल हुनेछ जुन कोनकाकाफ राष्ट्रविरुद्ध हुनेछ। क्यानडा आइस हक्कीमा प्रबल राष्ट्र भए तापनि फुटबल विश्वकपमा अझै बलियो उपस्थिति देखाउन सकेको छैन, तर घरेलु मैदानमा खेलेर समूह चरण पार गर्ने लक्ष्यमा छ। जर्मन क्लब बायर्न म्युनिखका डिफेन्डर अल्फोन्सो डेभिसको कप्तानीमा रहेको क्यानडाले जोनाथन डेभिड, ताजोन बुचानानजस्ता प्रमुख खेलाडी प्रस्तुत गर्नेछ। अल्फोन्सो डेभिस विश्वकपमा गोल गर्ने पहिलो क्यानडाली खेलाडी हुन्। घानाको रिफ्युजी क्याम्पमा जन्मेका उनी ५ वर्षको उमेरमा क्यानडा पुगेका थिए र १५ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्। सन् २०१४ को विश्वकप खेलाडीमध्ये एडेन जेको र सिद कोलासिनाक अहिले बोस्नियाको टोलीमा रहेका छन्। फरवार्ड एडेन जेकोको उत्कृष्ट प्रदर्शनमा बोस्नियाले विश्वकप स्थान बनाएको हो। क्यानडाका मिडफिल्डर स्टिफन युस्टाकियोले आफ्नो टोलीसँग पर्याप्त अनुभव रहेको र आफ्नो शैलीमा खेल्न सक्षम रहेको बताए। घरेलु समर्थकहरूको उपस्थितिले राम्रो नतिजा ल्याउनेमा उनी आशावादी छन्। बोस्निया र हर्जगोभिनाका प्रशिक्षक सेर्गेज बारबारेजले सानो देश भएका कारण दोस्रो पटक विश्वकप खेल्न गएकाले टोलीलाई कमजोर नठान्न आग्रह गर्दै विश्वस्तरको उत्कृष्ट खेल प्रदर्शनका लागि तयार रहेको बताए।

खेल विवरण
खेल: क्यानडा भर्सेस बोस्निया एण्ड हर्जगोभिना
स्थान: टोरन्टो स्टेडियम
समय: बिहान पौने १ बजे
रेफ्री: फाकुन्डो टेलो
क्यानडाका पछिल्ला ५ खेलको नतिजा: २ जीत ३ बराबरी
बोस्निया एण्ड हर्जगोभिनाका पछिल्ला ५ खेलको नतिजा: २ जीत ३ बराबरी