
उद्यमी सीता पौडेलले काठमाडौंको दरबारमार्गमा दिगो फेसन प्रवर्द्धन गर्ने उद्देश्यले ‘प्रि लभ लक्स बाइ सोराया’ नामक थ्रिफ्ट स्टोर सञ्चालन गरेकी छिन्। उनले सोरायाको नाफा र प्रिलभको दानबाट १६ वर्षमुनिका बालबालिकाको स्वास्थ्य र शिक्षामा सहयोग पुर्याउन ‘अरोरा फाउन्डेसन’ सञ्चालन गरेकी छिन्। काठमाडौंको दरबारमार्गमा तपाईंले एउटा आउटलेट देख्नुहुनेछ, प्रि लभ लक्स बाइ सोराया। जब तपाईं यसको साजसज्जा देख्नुहुनेछ वा यसमा सजाइएका लत्ताकपडा देख्नुहुनेछ, तपाईंलाई लाग्न सक्छ यो कुनै ब्रान्डेड सप हो। तर यो ‘थ्रिफ्ट स्टोर’ हो, जहाँ पुराना वा सेकेन्ड ह्यान्ड सामानको बिक्री गरिन्छ। यहाँ रहेका अधिकांश सामान पहिले कसैको दराजमा थिए, प्रयोग भइसकेका थिए। तर यी सामाग्री अझै प्रयोग योग्य अवस्थामा छन् र तिनै सामानलाई नयाँ मूल्य र नयाँ प्रयोगकर्तासम्म पुर्याउने काम गरिरहेको छ ‘प्रि लभ लक्स बाइ सोराया’ले।
नेपालमा थ्रिफ्टिङको अवधारणा नयाँ होइन। प्रयोग भएका थ्रिफ्ट सामाग्री सामाजिक सञ्जालमार्फत बिक्री गर्ने अभ्यास केही वर्षयता बढ्दो छ। तर ब्रान्डेड फेसन सामग्रीलाई व्यवस्थित, गुणस्तरीय र विश्वसनीय ढंगले पुनःबजारमा ल्याउने प्रयास भने सीमित छन्। यही खाली ठाउँ पहिचान गरेर उद्यमी सीता पौडेलले ‘प्रिलभ लक्स बाइ सोराया’ सुरु गरेकी हुन्। उनका अनुसार प्रिलभ केवल व्यापारिक प्लेटफर्म होइन, दिगो फेसन र जिम्मेवार उपभोग संस्कृतिको अभियान पनि हो। ‘हामीले किनिरहेका, प्रयोग गरिरहेका र फालिरहेका सामानहरूले वातावरणमा प्रत्यक्ष असर पारिरहेका छन्। अझै प्रयोग गर्न मिल्ने सामान पुनः प्रयोगमा ल्याउन सकियो भने वातावरणीय भार कम गर्न सकिन्छ,’ उनी भन्छिन्।
प्रिलभको विशेषता यसको गुणस्तर नियन्त्रण प्रणाली हो। यहाँ सामान ल्याउन चाहने व्यक्तिले ब्रान्डेड र मौलिक सामान ल्याउनुपर्छ। सामान राम्रो अवस्थामा हुनुपर्छ। अत्यधिक प्रयोग भएका वस्तुहरू स्वीकार गरिँदैनन्। प्रत्येक सामान रूपमा जाँच गरिन्छ। धेरै अवस्थामा स्वयं सीताले राति समय निकालेर सामान निरीक्षण गर्छिन्। ‘मानिसहरूले हामीलाई विश्वास गरेर आफ्ना लाखौं रुपैयाँ पर्ने सामान जिम्मा दिनुहुन्छ। ग्राहकले पनि हामीलाई विश्वास गरेर किन्नुहुन्छ। त्यसैले विश्वास नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो’ उनी भन्छिन्। हाल प्रिलभमा जारा, एच एन्ड एम, कोच, माइकल कोर्स, टोरी बर्च लगायतका अन्तर्राष्ट्रिय ब्राण्डका सामान पाइन्छन्। केही वस्तु हजार रुपैयाँभन्दा कम मूल्यमा उपलब्ध हुन्छन् भने केही लक्जरी सामानको मूल्य ५० हजारदेखि ८० हजार रुपैयाँसम्म पुग्छ। सीताका अनुसार प्रिलभको सफलता केवल व्यापारमा सीमित छैन। यो मोडलले चार पक्षलाई एकैपटक लाभ पुर्याइरहेको छ। पहिलो, प्रयोग नगरिएका सामान बेच्ने व्यक्तिले आर्थिक लाभ प्राप्त गर्छन्। दोस्रो, ग्राहकले सस्तो मूल्यमा गुणस्तरीय ब्रन्डेड सामान पाउँछन्। तेस्रो, व्यवसाय सञ्चालन गर्ने टोलीले रोजगारी र आम्दानी पाउँछ। चौथो, पुनः प्रयोगको संस्कृतिले वातावरण संरक्षणमा योगदान पुग्छ। ‘मलाई सबैभन्दा खुसी लाग्ने कुरा यही हो कि यहाँ सबै पक्ष जितको अवस्थामा छन्’ उनी भन्छिन्।






