
अमेरिकी स्वतन्त्रताको २५० औं वार्षिकोत्सव र फिफा विश्वकप २०२६ को अवसरमा काठमाडौंमा ‘गोल युएसए २०२६ फाइनल्स’ सम्पन्न भएको छ। विराटनगर, सुर्खेत, भैरहवा र पोखराका छनोट खेलाडीहरू ललितपुरको सातदोबाटोमा आयोजित फाइनल चरणमा सहभागी भएका थिए। यो कार्यक्रम अमेरिकी दूतावासले आयोजना गरेको हो र यसले खेलकुदमार्फत नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण सम्बन्ध सुदृढ पार्ने लक्ष्य राखेको छ।
यस कार्यक्रमको सुरुवात विराटनगर, सुर्खेत, भैरहवा र पोखरामा आयोजित फुटबल सीप विकासका चुनौतीहरूको श्रृंखलाबाट भएको थियो। यस कार्यक्रममार्फत सयौं युवा खेलाडीहरूले टोली भावना र नेतृत्व विकासका गतिविधिहरूमा भाग लिएका थिए। प्रत्येक सहरबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू काठमाडौंमा सम्पन्न राष्ट्रिय फाइनल खेलमा छनोट भएका थिए। फाइनलमा उनीहरूले प्रतिस्पर्धा मात्र गरेनन्, युवा सहभागीहरू, चर्चित खेलाडीहरू साथै अमेरिकी दूतावासका कर्मचारीहरू सम्मिलित विशेष मैत्रीपूर्ण खेलमा पनि भाग लिएका थिए।
यो कार्यक्रम अमेरिकी स्वतन्त्रताको २५० औं वार्षिकोत्सवको अवसरमा सञ्चालन गरिएको फ्रिडम २५० अभियानको एक हिस्सा हो र संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा हुने फिफा विश्वकप २०२६ प्रति बढ्दो उत्साहलाई प्रतिबिम्बित गर्दछ। खेल सुरु हुनुअघि कार्यवाहक राजदूत स्कट अर्बोमले भने, ‘गोल युएसएले संयुक्त राज्य अमेरिका र नेपालबीचको दीर्घकालीन मित्रतालाई प्रतिबिम्बित गर्छ। संयुक्त राज्य अमेरिका फिफा विश्वकप २०२६ आयोजना गर्न लाग्दा हामी नेपालभरिका युवासँग त्यो उत्साह बाँड्न र हाम्रा समुदायहरूलाई अझ नजिक ल्याउने सम्बन्ध निर्माण गर्न पाउँदा गर्व महसुस गर्दछौँ।’
प्रतियोगिताले खेलकुदमार्फत समुदायलाई जोड्ने, युवा नेतृत्वलाई प्रेरित गर्ने र साझेदारीलाई सुदृढ पार्ने शक्ति देखाएको थियो। प्रतियोगिताभर सहभागीहरूले टोली भावना, अनुशासन, दृढता र उत्कृष्टताप्रति प्रतिबद्धता देखाएका थिए। यी गुणहरू मैदानभित्र मात्र होइन, जीवनका अन्य क्षेत्रमा पनि सफलता हासिल गर्न महत्वपूर्ण छन्। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आयोजित फाइनल खेलमा नेपालभरिका युवा, खेलाडी, पूर्व सहभागी, सामुदायिक नेतागण र समर्थकहरूको सहभागिता रहेको थियो।






