
विराटनगरमा सम्पन्न कोशी प्रदेश स्तरीय युवा सम्मेलनले नीतिगत निर्णयहरूमा युवाको प्रभावकारी सहभागिता सुनिश्चित गर्न माग गरेको छ। सम्मेलनले योजना निर्माण प्रक्रियामा युवा नागरिक समाजको कम्तीमा २० प्रतिशत प्रतिनिधित्व र युवामैत्री बजेट निर्माणको अनुरोध गरेको छ। साथै, युवा उद्यमीलाई बिना धितो ऋण प्रदान गर्ने र कुल स्वास्थ्य बजेटको ५ प्रतिशत मानसिक स्वास्थ्यका लागि विनियोजन गर्न माग गरेको छ।
कोशी प्रदेशका १४ जिल्ला निवासी युवाहरूको सहभागितामा सम्पन्न प्रदेश युवा सम्मेलनले यसरी माग राखेको हो। विराटनगरमा जेठ २८ र २९ गते आयोजना गरिएको सम्मेलनले युवाको सहभागिता समृद्ध प्रदेशको प्रमुख आधार भन्ने संकल्प पनि पारित गरेको छ। सम्मेलनले युवा परिषद्लाई थप सशक्त र स्रोत-साधन सम्पन्न बनाउन पनि आग्रह गरेको छ।
स्थानीय र प्रादेशिक योजना निर्माण प्रक्रियामा युवा नागरिक समाजको कम्तीमा २० प्रतिशत प्रभावकारी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने तथा युवालाई समेटेर बजेट निर्माण गर्नुपर्ने माग सम्मेलनले राखेको छ। साथै, किराँत, धिमाल, राजवंशी, सन्थाल, राई, लिम्बु लगायतका समुदायका परम्परागत सीप संरक्षणका लागि प्रादेशिक रैथाने ज्ञान र नवप्रवर्तन केन्द्र स्थापना गर्न पनि आग्रह गरिएको छ।
युवा उद्यमीलाई प्रोत्साहन गर्न कर छुट, बिना धितो युवा नवप्रवर्तन ऋण तथा स्वदेशी उत्पादनको पेटेन्ट दर्तामा सहजीकरण गर्ने माग सम्मेलनले गरेको छ। स्वास्थ्य क्षेत्रमा कुल बजेटको ५ प्रतिशत mental स्वास्थ्यमा विनियोजन गर्न र स्थानीय तहमा मनोपरामर्शदाता नियुक्ति गर्न पनि आग्रह गरिएको छ। सम्मेलनले ‘कोशी प्रदेश सिएसओयस युथ फोरम’को नयाँ नेतृत्व चयन गरेको छ। फोरमको संयोजकमा युवा तिम्सिना र सह–संयोजकमा नेहा अग्रहरी चयन भएका छन्।






