
समाचार सारांश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि रेल, मेट्रोरेल र मोनोरेल विकास परियोजनाको लागि ३ अर्ब ७ करोड ६८ लाख रुपैयाँ विनियोजन गरेको छ। सुरुआती लागत ७० अर्ब ६२ करोड रहेको रेलमार्ग परियोजनाको संशोधित कुल लागत ९ खर्ब ५५ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। नेपाल–चीन अन्तरदेशीय केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन अन्तर्गत फागुनसम्म भौगर्भिक अन्वेषण लगभग ९० प्रतिशत सम्पन्न भइसकेको छ। २९ जेठ, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा रेल, मेट्रोरेल र मोनोरेल विकास आयोजनाका लागि ३ अर्ब रुपैयाँ मात्र विनियोजन गरेको छ। पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम अनुसार आगामी आवमा ३ अर्ब ७ करोड ६८ लाख रुपैयाँ रेल विकासमा विनियोजन गरिएको हो। यसमा राष्ट्रिय गौरवको रेल, मेट्रोरेल र मोनोरेल विकास आयोजना काठमाडौंलाई २ अर्ब ७९ करोड विनियोजन गरिएको छ। रेल योजना कार्यालय झापालाई ५ करोड र रेल योजना कार्यालय सर्लाहीलाई २३ करोड छुट्याइएको छ। सरकारले हालैको आवमा रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजनालाई २ अर्ब ६९ करोड ३६ लाख विनियोजन गरेको छ र आगामी वर्ष यसको सामान्य वृद्धि गरेको छ।
बजेट भाषणमा सरकारले बर्दीवासदेखि काठमाडौं–तराई मधेस द्रुतमार्गको प्रस्थान बिन्दुसम्म रेलमार्ग निर्माणलाई अगाडि बढाउने उल्लेख गरेको छ। साथै, निर्माणाधीन बथनाहा–विराटनगर र जनकपुर–जयनगर–बर्दीवास रेलमार्गका बाँकी काम पूरा गर्न समेत बजेट छुट्याइएको छ। सरकारको आगामी आवको नीति तथा कार्यक्रममा पूर्व–पश्चिम रेलमार्गलाई निरन्तरता दिने योजना रहेको छ। केरुङ–काठमाडौं र रक्सौल–काठमाडौं रेलमार्गको लगानी मोडालिटी सम्बन्धि अध्ययन पनि अघि बढाइने बताइएको छ। तर नेपालको रेलमार्ग परियोजनामा कार्यान्वयनमा अहिलेसम्म पर्याप्त प्रगति भएको छैन। नेपालमा पहिलो रेल सेवा सञ्चालन भएको एक शताब्दी पुगेको छ। सन् १९२७ मा अमलेखगञ्ज–रक्सौल ४८ किलोमिटर लामो रेल नेपालकै पहिलो रेल सेवा मानिन्छ। यो सेवा सन् १९६० को दशकमा बन्द भयो। पछि सन् १९३७ देखि भारतको जयनगरदेखि नेपालको जनकपुर–बिजलपुरासम्म ५१ किलोमिटर लामो दोस्रो रेल सेवा सुरु भयो जुन लामो समयसम्म सेवा दिइयो। बन्द भएको उक्त रेलसेवाको पुनर्निर्माण २०७८ सालदेखिको योजनाअनुसार सम्पन्न भएर पुनः सञ्चालन गरिएको छ। तर चुस्त व्यवस्थापनको अभावका कारण चलेको रेलसेवाले सन्तोषजनक आम्दानी गर्न सकेको छैन र बाँकी परियोजनाहरू पनि निकै सुस्त गतिमा छन्।






