फिफा विश्वकप २०२६ अन्तर्गत क्यालिफोर्नियामा भएको खेलमा कतारले स्विट्जरल्याण्डलाई बराबरीमा रोक्दै पहिलो अंक जोड्दै सफल भएको छ। खेलको अन्तिम समयमा कतारका बोउलेम खोउखीले गोल गरेपछि स्विट्जरल्यान्डसँगको खेल १-१ को बराबरीमा सम्पन्न भएको छ। ३१ जेठ, काठमाडौं।
बोउलेम खोउखीले खेलको अन्तिम समयमा गोल गर्दा कतारले फिफा विश्वकप २०२६ मा स्विट्जरल्यान्डविरुद्ध १-१ को बराबरीको नतिजा निकाल्दै अंक बटुलेको छ। क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरिया रंगशालामा आयोजित खेलमा सुरुवाती अग्रता कायम राख्न नसकेपछि स्विट्जरल्यान्ड बराबरीमा रोकिएको हो। यस बराबरीसँगै कतारले विश्वकपमा पहिलो अंक जोडेको छ। सन् २०२२ मा आयोजकको रूपमा विश्वकप खेलेको कतारले कुनै पनि अंक जोड्न सकेको थिएन।
स्विट्जरल्यान्डले खेल अवधिभर कतारमाथि दबाब राख्दै दर्जनौँ गोल अवसर बनायो, तर फिनिशिङ गर्न सकेन; यद्यपि कतारका गोलकिपरले उत्कृष्ट प्रदर्शन गरे। स्विट्जरल्यान्डले ६० प्रतिशतभन्दा बढी पोसेसन राखेको थियो। तर कतार अन्तिमसम्म हार मानेन र इन्जुरी टाइममा गोल फर्काउन सफल रह्यो। स्विट्जरल्यान्डका लागि ब्रेल एम्बोलोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।
खेलको १७औं मिनेटमा डिबक्सभित्र कतारका गोलकिपर महमूद अबुनादाले विपक्षी खेलाडीलाई लडाएपछि स्विट्जरल्यान्डले पेनाल्टी पाएको थियो। पेनाल्टीलाई सदुपयोग गर्दै एम्बोलोले स्विट्जरल्याण्डलाई पहिलो अग्रता दिलाएका थिए। ९० मिनेटसम्म एक गोलले पछि परेको कतारका लागि इन्जुरी समयमा बोउलेम खोउखीले हेडमार्फत गोल गर्दै बराबरीमा फर्काए। बोउलेमले कतारलाई हारबाट जोगाएका हुन्। सन् २०२२ मा आयोजक राष्ट्रको रूपमा विश्वकप खेलेको कतार यसपटक छनोट चरण पार गरेर विश्वकपमा प्रवेश गरेको हो। स्विट्जरल्यान्डले भने १३औं विश्वकप खेलेको छ। सन् २०२२ मा कतार समूह चरणबाट बाहिरिएकामा स्विट्जरल्यान्ड अन्तिम १६ मा पुगेको थियो। आजको दोस्रो खेलमा पाँच पटक विश्व च्याम्पियन ब्राजिल र गत संस्करण चौथो स्थान ओगटेको मोरक्को प्रतिस्पर्धा गर्दैछ। उक्त खेल न्यूयोर्क-न्यु जर्सी रंगशालामा पौने ४ बजेदेखि शुरू हुनेछ।

