बौद्धिक अपाङ्गता भएका खेलाडीहरूको उपत्यकाव्यापी विशेष ओलम्पिक्स खेल प्रतियोगिता सुरु हुँदै
ललितपुरमा आइतबारदेखि बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूका लागि ‘उपत्यकाव्यापी विशेष ओलम्पिक्स खेल प्रतियोगिता २०८३’ आयोजना हुन लागेको छ। स्पेशल ओलम्पिक्स नेपालकी अध्यक्ष शिला थापाले विभिन्न कारणले करिब १० वर्षसम्म स्थगित भएको प्रतियोगिता पुनः सञ्चालनमा ल्याउन लागिएको बताइन। नेपालले सन् २०२७ मा अमेरिकामा आयोजना हुने विशेष ओलम्पिक्स प्रतियोगितामा सहभागिता जनाउने तयारी गरिरहेको छ।
बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको खेल कौशल विकास र सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो। स्पेशल ओलम्पिक्स नेपाल र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा प्रतियोगिता आइतबार ललितपुरको जाउलाखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सञ्चालन गरिनेछ।
शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका २४ जना बौद्धिक अपाङ्गता भएका महिला तथा पुरुष खेलाडीहरू सहभागी हुने जानकारी गराएका छन्। प्रतियोगितामा ५० मिटर र १०० मिटर दौड, लङ जम्प र सफ्ट बल थ्रो खेलहरूमा प्रतिस्पर्धा हुने छ। स्पेशल ओलम्पिक्स नेपालकी अध्यक्ष शिला थापाले खेलकुदमार्फत बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको आत्मविश्वास वृद्धि हुने र अभिभावकहरूलाई पनि सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गरिन्।
स्पेशल ओलम्पिक्स नेपालका उपाध्यक्ष डा. लाक्पा शेर्पाले अमेरिकाबाट प्रारम्भ भएको विशेष ओलम्पिक्स अभियानले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर उपलब्ध गराएको बताए। महासचिव सीमा राईले सन् २०२७ मा अमेरिकामा हुने विशेष ओलम्पिक्समा नेपालको सहभागिताका लागि तयारी भइरहेको बताइन्। प्रतियोगिताका विजेता खेलाडीहरूलाई स्वर्ण, रजत र कास्य पदक पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

