नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईँले पार्टीलाई एकजुट बनाउने प्रयासमा बाधा नपुर्याउन पार्टी नेतृत्वलाई चेतावनी दिएकी छन्। उनले उपसभापति विश्वप्रकाश शर्मालाई सोधिन्, “यो सभा पार्टी फुटाउने होइन, एकजुट बनाउने पहल हो। यस्तो अभियानलाई तपाईंले किन अवरुद्ध गर्ने प्रयास गर्नुभयो?” विराटनगरमा आयोजित कार्यक्रममा उनले नेपाली कांग्रेस कम्जोर हुँदा देश नै संकटमा पर्ने जोखिम औँल्याइन्। ३१ जेठ, विराटनगर।
प्रसाईँले पार्टीभित्रको आन्तरिक असन्तुष्टि र भेलाहरूलाई नेतृत्वले सकारात्मक दृष्टिले लिनुपर्नेमा उल्टो चेतावनी दिने र रोक्न खोज्ने प्रवृत्ति देखिएको गुनासो गरिन्। कांग्रेसको अन्य समूहले आयोजना गरेको कार्यक्रममा उनले उपसभापति शर्मालाई उल्लेख गर्दै भनिन्, ‘हामी पहिले देखि सँगै राजनीति गरेका, नेविसंघको जिल्लादेखि केन्द्रसम्म सँगै पाइला अघि बढाएका साथी पूर्ण रूपमा छौं। अहिले तपाईं पार्टीको नेतृत्वमा हुनुहुन्छ, यस्तो बेला पार्टीलाई अझ सुदृढ बनाउने प्रयत्न हुनु पर्नेमा भेलाहरू रोक्ने प्रयास हुनु दुःखद् छ।’
प्रसाईँले मुलुकको वर्तमान राजनीतिक अवस्था, संसदको गतिरोध र संविधानमाथि भइरहेका प्रहारप्रति चिन्ता व्यक्त गर्दै भनिन्, ‘नेपाली कांग्रेस जब-जब फुट्न थाल्छ, यसले मुलुकलाई संकटतर्फ लैजान्छ। अहिले संविधान र व्यवस्था कायम रहने कि नहुने भन्ने द्विविधा छ। यस्तो समयमा देशकै सबैभन्दा पुरानो पार्टी कांग्रेस अन्योलमा रहनु हुँदैन।’ आगामी स्थानीय र प्रदेश सभा निर्वाचनको सन्दर्भमा कार्यकर्तालाई नराज बनाएर निर्वाचन जित्न असम्भव हुने कुरा उनले बताइन्। ‘यदि यी साथीहरूले तपाईंलाई सहयोग गरेनन् भने कांग्रेसले चुनाव जित्छ?’, उनले नेतृत्वलाई प्रश्न गरिन्, ‘यदि चुनाव जित्न सकेनौं भने राष्ट्रिय सभामा हाम्रो अवस्था के हुनेछ?’

