Skip to main content

धवलशमशेर र दुर्गा प्रसाईंले नयाँ पार्टी गठनका लागि ३१ विभाग गठन गरे

३१ जेठ, काठमाडौं। राप्रपाबाट अलग भएका धवलशमशेर राणा र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं नयाँ पार्टी गठनको प्रक्रियामा जुटेका छन्। उनीहरूले दल निर्माणका लागि ३१ वटा विभाग गठन गरेका छन्। विभाग प्रमुखहरूलाई आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा जिम्मेवारी हस्तान्तरण गरिएको छ। राणा र प्रसाईंले संयुक्त रुपमा जिम्मेवारी हस्तान्तरण गरेका हुन्।

पार्टी एकता कार्यदल, कार्यसम्पादन कार्यदल, वार्ता कार्यदल लगायतका विभाग गठन गरिएको आयोजकले जानकारी दिएको छ। जसमा मुकुन्दश्याम गिरी, सगुनसुन्दर लावती, राजु आचार्य, धनश्वर शाही, खड्ग जिसी, ईश्वरीप्रसाद भट्टराई, केशवराज श्रेष्ठ, डा. महेन्द्रजंग शाह, दिलविकास राजभण्डारी लगायत रहेका छन्। नयाँ पार्टी गठन गर्न भन्दै २१ जेठमा राप्रपा महामन्त्री धवलशमशेर राणा लगायतले पार्टी छाडेका थिए। त्यसपछि दुर्गा प्रसाईंको समूह राणाको समूहसँग मिलेका थिए।

प्रस्तावित राष्ट्रवादी पार्टी निर्माण तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रममा बोल्दै राणाले राप्रपाका नेताहरूले कार्यकर्तालाई अनावश्यक कारवाहीको डण्डा चलाएको उल्लेख गरेका छन्। बालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिन नपुग्दै तमाम गल्तीहरू गरेको बताए।