Skip to main content

विराटनगरमा मृत भेटिएका प्रिन्स यादवको घटनामा अनुसन्धान जारी

भारतको पटनामा भएको कोचिङ सेन्टर गोली काण्डका मुख्य आरोपित २४ वर्षीय भारतीय युवक प्रिन्स यादव विराटनगरमा शंकास्पद रूपमा मृत फेला परेका छन्। यादव मृत भेटिएपछि मोरङ प्रहरीले उनीसँगै होटलमा बसेका अन्य चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको छ। गत २ जुनमा पटनाको ‘खान ग्लोबल स्टडीज’ मा भएको गोली प्रहारको घटनापछि उनी फरार भई विराटनगर आएका थिए। ३१ जेठ, विराटनगर।

भारतमा पछिल्लो समय चर्चामा रहेको कोचिङ सेन्टर गोली काण्डका मुख्य आरोपित मध्येका एक जना गएराति विराटनगरमा मृत भेटिएका छन्। गत २ जुनमा ‘खान सर’ नामले परिचित फैजल खानले बिहारको राजधानी पटनामा सञ्चालन गरेको खान ग्लोबल स्टडीजमा गोली चलेको थियो। सो घटनाका आरोपित मध्येका एक २४ वर्षीय भारतीय युवक प्रिन्स यादव विराटनगरमा मृत भेटिएका छन्। उनकाे एउटा आँखामा चाेट छ। उनी मृत भेटिएपछि प्रहरीले उनीसँगै रहेका चार जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ।

मोरङ प्रहरी स्रोतका अनुसार प्रिन्स यादव (प्रिन्स आनन्द) पटनामा रहेकाे ज्ञानबिन्दु एकेडेमीका सञ्चालक रोशन आनन्दका कान्छा भाइ हुन्। दाजुभाइविरुद्ध खान सर एकेडेमीका सञ्चालक फैजल खानले जाहेरी दिएका थिए। प्रहरीले खोजी थालेपछि प्रिन्स भागेर विराटनगर आएका थिए। केही दिनदेखि विराटनगर–१० स्थित शुभ होटलमा बस्दै आएका उनलाई अचेत भएपछि शनिबार राति १०:५५ मा उनीकै साथीले न्युरो अस्पताल पुर्‍याएका थिए। न्यूरो अस्पताल प्रशासनका अनुसार अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो। मृतकको पृष्ठभूमि विवादसँग जोडिएको हुनाले उनको मृत्युले शंका उत्पन्न गराएको छ।

प्रहरीका अनुसार मृतकको आँखाको डिलमा सामान्य चोट बाहेक अन्य कुनै चोटपटक देखिएको थिएन। घटना शंकास्पद देखिएपछि प्रहरीले उनीसँगै रहेका बिहारको सहरसा क्षेत्रका २५ वर्षीय अंकितकुमार यादव, २७ वर्षीय रोशन यादव, २१ वर्षीय लटु यादव र ३० वर्षीय जयराम यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। मोरङ प्रहरी प्रमुख कवित कटवालका अनुसार यादव जेठ २० गते साथीहरूसँग विराटनगर आएका थिए। सुरुमा मेट्रो होटलमा २ दिन बसेका उनी त्यसपछि शुभ होटलमा सरेका थिए। यादवको मृत्युको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। शवको पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको उल्लेख गर्दै प्रहरी उपरीक्षक कटवालले विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए।