नेपाल रत्न तथा आभूषण संघले हिरा र बहुमूल्य पत्थरमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन सरकारसँग माग गरेको छ। संघका अध्यक्ष सुमनमान ताम्राकारका अनुसार, भ्याटको कारण हिरा भारतभन्दा १२ प्रतिशत महँगो भएकोले नेपाली व्यवसाय संकटमा परेको छ। उनले भने, “भ्याटका कारण भारतको तुलनामा नेपालमा हिरा र बहुमूल्य पत्थर १२ प्रतिशत महँगो भयो, जसले गर्दा नेपाली ग्राहक ती वस्तु किन्न भारतीय बजार जान थाले।”
संघले चालू आर्थिक वर्षको बजेटमार्फत् भ्याट लाग्न थालेपछि यी वस्तुहरूको व्यवसाय ठप्प भएको बताएको छ। ताम्राकारले अनधिकृत तरीकाले भारतबाट हिरा र बहुमूल्य पत्थर ल्याउँदा ठूला फाइदाहरू भइरहेको र तस्करी बढेको अवस्था रहेको पनि बताए। उनले भने, “भ्याट लगाएपछि सरकारलाई राजस्व त बढी प्राप्त भए पनि हजारौं व्यवसायी र लाखौं मजदुरको रोजीरोटीमा खतरा आएको छ।”
सुनको मूल्य तोलामा तीन लाख रुपैयाँ वरिपरि रहेको समयमा क्यूआर कोडबाट दैनिक भुक्तानी सीमा तीन लाख मात्र हुनु अपर्याप्त रहेको ताम्राकारले बताए। उनले सुन आयातमा कोटा प्रणाली खारेज गरी निजी क्षेत्रलाई स्वतन्त्र बनाउनुपर्ने पनि जोड दिए। संघले आर्जित विदेशी मुद्रा जम्मा गर्न आभूषण व्यवसायीलाई बैंकमा विदेशी मुद्राको खाता खोल्न अनुमति दिनुपर्ने माग पनि गरेको छ।

