क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रूपमा आयोजना गर्ने फिफा विश्वकपका लागि फिफाले १८ वटा गीत समेटिएको विशेष डबल एल्बम सार्वजनिक गरेको छ। सन् १९३० मा उरुग्वेमा आयोजित पहिलो विश्वकपमा होसे पेपिनो मिनिस्तेरीले गाएको उरुग्वाइओस काम्पिओनेसलाई विश्वकपको पहिलो गीत मानिन्छ। फिफाले सन् १९६२ को चिली विश्वकपदेखि एल् रक डेल मुन्डियल गीत प्रयोग गर्दै आधिकारिक रूपमा विश्वकप संगीतको यात्रा सुरु गरेको थियो। फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरले एकपटक भनेका थिए, ‘संसारमा दुईवटा मात्र भाषाहरू छन्- फुटबल र संगीत।’ ब्लाटरको यो भनाइ फुटबल विश्वकपका समयमा अझ बढी सान्दर्भिक हुन्छ। हरेक विश्वकपको उत्सवमा संगीतले विभिन्न संस्कृति र देशका मानिसहरूलाई एउटै लयमा बाँध्छ। प्रतियोगिताले आफैलाई बढावा दिन, माहोल तताउन र एउटा वातावरण तयार पार्न संगीतलाई प्रयोग गर्छ। यसै कारण कतिपयले संगीतलाई विश्वकपको दोस्रो भाषा मान्ने गर्दछन्।
संगीतको यही प्रभावका कारण नै विश्वकपको उद्घाटन समारोहमा आधिकारिक भाषणहरू छोटो हुन्छन्। मुख्य आकर्षण नै ‘थिम सङ’को प्रस्तुति हुन्छ। यस आधारमा विश्वभर फुटबल संस्कृति र मानवीय मूल्यहरू फैलाउने एक प्रमुख माध्यम संगीत बनेको छ। अर्कोतिर, संगीत खेलको पूरक पनि हो। सन् २०१० मा दक्षिण अफ्रिकामा आयोजित फिफा विश्वकपको आधिकारिक गीत ‘वाका वाका’ (दिस टाइम फर अफ्रिका) सम्झौं। रिलिज भएदेखि १६ वर्षमा कोलम्बियन पप स्टार शाकिराको यो गीत युट्युबमा मात्र ४ अर्ब ५० करोड पटकभन्दा बढी स्ट्रिम भइसकेको छ। क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रूपमा विश्वकप आयोजना गरेकाले यी तीन देशका संस्कृति र कलाकारहरूलाई बढी प्राथमिकता दिइएको छ।
विश्वकपको सांगीतिक संस्करण इतिहासकै सबैभन्दा ठूलो र विशेष छ। यस वर्ष फिफाले विभिन्न विधाका संगीतहरू मिसाएर १८ वटा गीतहरू भएको विशेष डबल एल्बम निकालेको छ। एल्बममा धेरै देशका चर्चित कलाकारहरू सामेल छन्। जस्तै: नाइजेरियाका बर्न बोयसँग मिलेर शाकिराले ‘दाइ दाइ’ गीत गाएकी छिन्। फिफा एन्थमका लागि शाकिराको यो दोस्रो सहकार्य हो। अमेरिकी जेली रोल र मेक्सिकोका कारिन लियोनको ‘लाइटर’, क्यानडाकी जेसी रेयेज र प्यालेस्टाइनी गायिका एलियानाको ‘इलुमिनेट’, अमेरिकी र्यापर फ्युचर र दक्षिण अफ्रिकी गायिका टायलाको ‘गेम टाइम’, विश्वव्यापी एन्थम रोबी विल्याम्स र निकोल शेर्जिङ्गरको ‘डिजायर’ आदि छन्।
फरक-फरक देश र शहरमा खेल हुनुका कारण पनि हुन सक्छ, यस वर्ष फिफाले संगीतमा विविधता ल्याएको छ। शुरुवात कालमा प्राय एकजना गायकले एकै भाषामा मात्र गीत गाउने गर्थे भने अहिले विभिन्न देश र संस्कृतिका फरक-फरक कलाकारहरू प्रस्तुत हुन्छन्।

