Skip to main content

अमेरिका र इरानबीच सहमतिपछि ‘होर्मुज जलमार्ग खुल्ने’ घोषणा

अमेरिका र इरानबीच जारी सैन्य द्वन्द्व अन्त्य गर्ने सहमति भएको घोषणा गरिएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले शान्ति सम्झौता सम्पन्न भएको जानकारी दिएका छन्। उनका अनुसार लेबननसहित सबै मोर्चामा जारी सैन्य कारबाही समाप्त गर्ने सहमति भएको हो। इरानका उपविदेशमन्त्रीले पनि सम्झौताको प्रारूपमा सहमति भएको पुष्टि गरेका छन्। शहबाज शरिफका अनुसार उक्त सम्झौतामा आगामी शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक रूपमा हस्ताक्षर हुनेछ।

सम्झौतामा समावेश विषयवस्तुहरू अझै स्पष्ट हुन बाँकी छन्। यद्यपि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सम्झौतामा हस्ताक्षर गरेपछि “तेलको आपूर्ति पुनः सुरु हुने” बताएका छन्। उनले स्ट्रेट अफ होर्मुजको प्रयोग स्थायी रूपमा निःशुल्क हुने समेत जनाएका छन्। युद्ध अन्त्यको सहमति भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ। इरानका उपविदेशमन्त्रीका अनुसार, सम्झौताका प्रारूपलाई अन्तिम रूप दिन कतारको प्रतिनिधिमण्डल आइतबार तेहरान पुगेको थियो।

उक्त प्रतिनिधिमण्डलका अनुसार करिब १४ देखि १५ घण्टा लामो छलफलपछि इस्लामाबादमा तयार गरिएको प्रारूप टुङ्गोमा पुगेको थियो। अन्तिम सम्झौताका लागि ६० दिनभित्र वार्ता हुने तय गरिएको छ। इरानी सञ्चार माध्यमहरूले जनाएका छन् कि अमेरिका द्वारा इरानमाथि लगाइएको सामुद्रिक नाकाबन्दी ३० दिनभित्र समाप्त गरिने सहमति भएको छ। ट्रम्पले बताएका छन् कि होर्मुज जलमार्गमा “कहिल्यै कुनै शुल्क नलाग्ने गरी” इरानसँग सम्झौता गरिनेछ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि व्यापक आक्रमण सुरु गरेका थिए। जबाफमा इरानले अमेरिकालाई सहयोग गर्ने खाडी राष्ट्रहरूमा हमला गर्‍यो र विश्वका लागि महत्वपूर्ण तेल र प्राकृतिक ग्यास ढुवानी मार्ग होर्मुज जलमार्ग बन्द गर्‍यो। सहमतिपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य करिब ४ प्रतिशतले घटेको छ। अमेरिका र इरानबीच गत अप्रिलमा दुई साताका लागि युद्धविराम भएको थियो। दुवै पक्षले त्यसलाई निरन्तरता दिएको भए पनि पछिल्लो समयमा छिटपुट आक्रमण भइरहेका थिए।