Skip to main content

युद्धविरामदेखि ३०० अर्ब डलर पुनर्निर्माण योजनासम्मको सम्झौता

१ असार, काठमाडौं । इरानको सरकारी सञ्चार माध्यमले अमेरिका र इरानबीच १४ बुँदामा आधारित सम्झौता (एमओयू) हुने दाबी गरेको छ। तथापि यस सम्झौताको बुँदाबारे कुनै पनि मुलुकले आधिकारिक पुष्टि भने गरेका छैनन्। इरानको अर्ध सरकारी समाचार एजेन्सी ‘मेहर न्युज’ का अनुसार प्रस्तावित बुँदामा लेबनानसहित सबै मोर्चाहरूमा स्थायी युद्धविरामको विषय उल्लेख गरिएको छ। यसका साथै अमेरिकाले इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धता पनि सम्झौतामा समावेश गरिएको छ।

त्यस्तै, ३० दिन भित्र अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने, इरानी क्षेत्रमा अमेरिकी सैनिक फिर्ता गर्ने, ‘इरानी व्यवस्था’ अनुसार ३० दिन भित्र स्ट्रेट अफ होर्मुज फेरि खुला गर्ने बुँदाहरू पनि सम्झौतामा उल्लेख छन्। अमेरिका र उसका सहयोगीहरूले इरानको पुनर्निर्माणका लागि कम्तीमा तीन सय अर्ब डलरको योजना ल्याउने, इरानी तेल र ऊर्जा उत्पादनमा लगाइएका प्रतिबन्धहरू फुकुव गर्ने, र परमाणु हतियार नबनाउने विषयमा इरानले आफ्नो प्रतिबद्धता दोहोर्याउने विषय पनि सम्झौतामा रहेको ‘मेहर न्युज’ ले जनाएको छ।

अमेरिकाको तर्फबाट क्षेत्रीय सैन्य उपस्थिति नबढाउने र नयाँ प्रतिबन्ध नलगाउने प्रतिबद्धता पनि १४ बुँदे सम्झौतामा समावेश रहेको बीबीसीको समाचारमा उल्लेख छ। ‘इरानको ‘फ्रिज’ गरिएको सम्पत्तिको आधा हिस्सा ‘रिलिज’ गर्ने, ‘इरानी तेलमा लगाइएको प्रतिबन्ध निलम्बन गर्ने र नौसैनिक नाकाबन्दी नहटाउने अवस्था नआउन्जेल अन्तिम वार्ता सुरु नहुने,’ मेहर न्युजलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ।