Skip to main content

यु-१९ महिला राष्ट्रिय क्रिकेटको उपाधिका लागि मधेश र सुदूरपश्चिम प्रतिस्पर्धा गर्ने

१ असार, सुर्खेत । वीरेन्द्रनगरमा जारी १९ वर्षमुनिको महिला राष्ट्रिय क्रिकेटको उपाधि भिडन्त मधेश र सुदूरपश्चिम प्रदेशबीच हुने भएको छ। समूह चरणको अन्तिम खेलमा मधेशलाई ७ विकेटले पराजित गर्दै सुदूरपश्चिमले पुनः फाइनलमा मधेशसँगको भेट पक्का गरेको हो। आइतबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कर्णालीलाई हराउँदै फाइनल पुग्ने झिनो सम्भावना कायमै राखेको गण्डकी भने मधेशमाथि सुदूरपश्चिमले जित निकालेसँगै निराश बन्यो। अघिल्ला ६ खेलमा अपराजित रहँदै आएको मधेश प्रतियोगिताकै पहिलो हार व्यहोर्ने क्रममा सुदूरपश्चिमविरुद्धको खेलमा स्तब्ध भएपनि उपाधि दाबेदारका रुपमा फाइनल पुगेको छ।

कालुङचोक मैदानमा ११८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमका ओपनर सावित्री धामी र करुणा विष्टले ८ ओभरसम्म टिकेर ६८ रनको उत्कृष्ट साझेदारी गर्दै जितका लागि बलियो जग बसाले। २४ रनको व्यक्तिगत स्कोरमा सावित्री धामी सुष्मिताकुमारी यादवबाट बोल्ड भएको केहीबेरपछि नै करुणा रन आउट हुँदा मधेशतर्फ ढल्किएको खेललाई रश्मी सुनारले १५ र रविना धामीले १८ रन बटुल्दै आफ्नो पोल्टामा पारे। ३० बलको सामना गरेकी करुणाले १७० को स्ट्राइक रेटमा ९ चौकासहित ५१ रनको आक्रामक पारी खेलिन्। त्यसअघि पहिला ब्याटिङ गरेको मधेशका लागि सना प्रविन र प्रतिमा साहको समान २३–२३ रनको मद्दतमा ११७ को योगफल खडा गर्‍यो। मधेशका लागि आरती महतो र शिवानी साहले समान १०–१० रन जोडे।

आइतबारनै भएको अर्को खेलमा गण्डकीले घरेलु टोली कर्णालीमाथि ८ विकेटको फराकिलो जित निकाल्यो। घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको कर्णालीले २० ओभरको खेलमा ४ विकेट गुमाउँदै जम्मा ९६ रन जोड्यो। कप्तान तिर्सना विश्वकर्मा एक रनले अर्धशतक बनाउनबाट चुकिन्। ओपनर सोविका शाही शून्यमै आउट भएपनि तिर्सनाले ६२ बलको सामना गर्दै एक छक्का र ६ चौकाको मद्दतमा नटआउट ४९ रन बनाइन्। दोस्रो क्रमकी शिखा दुवाडीले १७ रन जोडिन्। बलिङतर्फ गण्डकीकी निरु जीटीले दुई विकेट झार्दा यशोदा भुजेल र जेनिशा शर्माको नाममा एक–एक विकेट रह्यो। ९७ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकीका ओपनर श्रेया शाह तीन र ज्योत्सिनी मरासिनी १३ रनमा आउट भएपछि तेस्रो र चौथो क्रममा आएका ब्याटरले नटआउट रहँदै गण्डकीको इनिङ्स सम्हाले। चन्द्रमाया बरालले ५ चौकासहित ३७ बलमा ३९ र दीपिका सापकोटाले पनि ५ चौकासहित २९ बलमा ३२ रन जोड्दै गण्डकीलाई सहज जित दिलाए। समूह चरणको अन्तिम खेलमा लुम्बिनीले कोशीलाई जम्मा ४८ रनको लक्ष्य दिएको थियो। १६ रन अतिरिक्त पाएको लुम्बिनीका कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन् भने ४ ब्याटर शून्यमै फर्किए। फाइनल खेल आज बिहान ९ बजेपछि कालुङचोक मैदानमै हुनेछ।