Skip to main content

म्यानमारका राष्ट्रपति मिन आङ ह्लाइङको पहिलो चीन भ्रमण

१ असार, काठमाडौं । म्यानमारका नवनिर्वाचित राष्ट्रपति मिन आङ ह्लाइङ पाँच दिने औपचारिक भ्रमणका लागि सोमबार चीनको राजधानी बेइजिङ पुग्नुभएको छ। यो भ्रमण चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा भएको हो। ६९ वर्षीय ह्लाइङ राष्ट्रपतिमा निर्वाचित भएपछिको पहिलो चीन भ्रमण हो। गत अप्रिल महिनाको सुरुमा म्यानमारको सैनिक पक्षधर सांसदहरूको बहुलता रहेको संसद्ले उनलाई राष्ट्रपतिमा निर्वाचित गरेको थियो। यसअघि उहाँ त्यहाँको सैन्य जुन्ताको प्रमुख तथा प्रधानसेनापति हुनुहुन्थ्यो। सन् २०२१ मा जननिर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता कब्जा गर्ने मुख्य योजनाकार ह्लाइङ नै हुनुहुन्थ्यो।

प्रधानसेनापतिबाट नागरिक राष्ट्रपतिका रूपमा उनको यो रूपान्तरणले म्यानमारमा उहाँको सत्ता पकडलाई कानुनी रूपमा थप बलियो बनाएको छ। सन् २०२१ को सैन्य कूपले म्यानमारको एक दशक लामो लोकतान्त्रिक अभ्यासलाई अन्त्य गरिदिएको थियो भने एसियाकै उदीयमान बजार मानिने सो देशबाट विदेशी लगानीकर्ताहरू बाहिरिएका थिए। भ्रमणका क्रममा राष्ट्रपति ह्लाइङले चिनियाँ समकक्षी सी जिनपिङसँग द्विपक्षीय वार्ता गर्नेछन्। यसका साथै उहाँले चीनका राजनीतिक वरीयतामा दोस्रो र तेस्रो स्थानमा रहेका प्रधानमन्त्री ली छ्याङ र राष्ट्रिय जनकाङ्ग्रेसका अध्यक्ष झाओ लेजीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने तय भएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले गत हप्ता पत्रकार सम्मेलनमा बोल्दै चीन र म्यानमारबीच ऐतिहासिक रूपमा बलियो भ्रातृत्व र सहकार्य रहँदै आएको र यस भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका थिए। राष्ट्रपति बनेपछि ह्लाइङको यो पहिलो विदेश भ्रमण भने होइन। उहाँले गत मे महिनाको अन्त्यमा भारतको पाँच दिने भ्रमण गर्नुभएको थियो। म्यानमारमा जारी आन्तरिक द्वन्द्वको बीच चिनियाँ लगानीका परियोजना र सीमा सुरक्षाको विषयमा केन्द्रित रहेर यस बेइजिङ भ्रमणमा महत्त्वपूर्ण छलफल हुने अनुमान गरिएको छ।