
टाइम्स बास्केटबल क्लबले एचजेएनबीएल २०२६ मा लगातार छैठौं जीत हासिल गर्यो। टाइम्सले कीर्तिपुरलाई ८२-६० ले पराजित गर्दै शीर्षस्थानमा रहेको त्रिभुवन आर्मी क्लबसँग समान १३ अंक जोड्यो। एचजेएनबीएलमा ८ टिम प्रतिस्पर्धा गर्दैछन् र विजेताले ४ लाख नगद पुरस्कार पाउनेछन्।
९ चैत, काठमाडौं। हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाइम्स बास्केटबल क्लबले लगातार छैठौं जित हात पारेको छ। सोमबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा सम्पन्न खेलमा टाइम्सले कीर्तिपुरलाई ८२-६० ले पराजित गरेको हो। छैठौं जितपछि टाइम्सले शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी क्लबसँग समान १३ अंक जोडेको छ। अंक बराबर भए पनि टाइम्स अंक अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ।
खेलको पहिलो क्वार्टरमा दुबै टोलीले १२-१२ अंक जोड्दा, दोस्रो क्वार्टरमा टाइम्सले २१-१२ को अग्रतासहित हाफटाइमसम्म ३३-२४ को अग्रता बनाएको थियो। त्यसपछि टाइम्सले तेस्रो क्वार्टर १७-८ र चौथो क्वार्टर ३२-२८ को अंकले आफ्नो पक्षमा खेल जितेको हो। टाइम्सका श्रेयास बहादुर थापाले सर्वाधिक २० अंक हासिल गरे।
आइतबार राति भएको खेलमा विभागीय टोली आर्मी क्लबले सोलो बास्केटबल क्लबलाई १०३-६८ को फराकिलो अन्तरले पराजित गरेको छ। नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भइरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिम प्रतिस्पर्धा गरिरहेका छन्। डबल राउन्ड रोविनका आधारमा हुने लिगमा कुल ५६ खेल हुनेछन्। लिग चरणपछि शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन्।






