१ असार, जनकपुरधाम । मधेश प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम’मा संशोधन गरी यसलाई ‘मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम’मा रूपान्तरण गरेको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुति गर्न लाग्दा अर्थमन्त्री युवराज भट्टराईले आगामी दिनहरुमा ‘शिक्षित छोरी, सुरक्षित मधेश ! उद्यमशील नारी समृद्ध मधेश’ भन्ने नाराकासाथ उक्त कार्यक्रम संचालन गरिने जानकारी दिएका छन् ।
मधेश प्रदेशको पहिलो सरकारले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम’को शुरुआत गरेको थियो । केही समयमा यो योजना मधेश प्रदेशको सबैभन्दा चर्चित र लोकप्रिय योजना बनेको थियो । यस अन्तर्गत साइकल वितरण, छोरी बीमा, लोकसेवा तयारी कक्षा लगायतका कार्यक्रम राष्ट्रिय स्तरमै चर्चित थिए । तत्कालीन प्रदेश सरकारले यसलाई आफ्नो गर्वको योजना ठानेर अगाडि बढाएको थियो । तर, साइकल खरिदमा देखिएको अनियमितता र तत्कालीन मुख्यमन्त्री लालबाबु राउतसमेत आरोपमा परेपछि यो योजना बदनाम भयो र ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अलपत्र परेको थियो ।

