युक्रेनका विभिन्न शहरहरूमा रुसले गरेको मिसाइल र ड्रोन आक्रमणमा ९ जनाको मृत्यु भएको छ। रुसी आक्रमणले राजधानी किभस्थित ११औं शताब्दीको ऐतिहासिक धार्मिक स्थल ‘डोर्मिसन क्याथेड्रल’मा आगलागी गराएको छ, जसले महत्वपूर्ण क्षति पुर्याएको छ। युक्रेनले जवाफी ड्रोन आक्रमण गर्दा रुसको तुला शहरमा ३ जनाको मृत्यु भएको छ। यस आक्रमणमा धेरै मानिसहरू घाइते भएका छन्।
युक्रेनी अधिकारीहरूका अनुसार किभमा भएका आक्रमणहरूमा ४ जना नागरिकको ज्यान गएको छ। उत्तर-पूर्वी शहर खार्किभमा रुसी आक्रमणपछि आगो निभाउँदै गर्दा ५ जना उद्धारकर्मीको मृत्यु भएको छ। युक्रेनी प्रधानमन्त्री युलिया स्भिरिदेन्कोले डोर्मिसन क्याथेड्रलमाथिको आक्रमणलाई ‘आफ्ना नागरिक र सांस्कृतिक सम्पदामाथिको निर्दयी प्रहार’ भन्दै भर्त्सना गरेकी छन्।
युक्रेनका विदेश मन्त्री एन्ड्री सिबिहाले यस राज्य-प्रायोजित बर्बरताका विरुद्ध युनेस्को र अन्य अन्तर्राष्ट्रिय संयन्त्रमार्फत तत्काल कदम चाल्न अनुरोध गरेका छन्। किभका मेयर भिटाली क्लिच्कोका अनुसार रुसी हमलाका कारण अनेकौं आवासीय भवन र सवारी साधनहरूमा आगो लागेको छ। किभका १ लाख ४० हजारभन्दा धेरै बासिन्दाहरू विद्युत् सेवाबाट बञ्चित भएका छन्।
सोमबार युक्रेनको अधिकांश भूभागमा हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो। युक्रेनको छिमेकी देश पोल्याण्डले सुरक्षा सतर्कता अपनाउँदै आफ्ना लडाकु विमानहरू उडाएको छ। युक्रेनले पनि रुसको भित्री क्षेत्रलाई निशाना बनाउँदै जवाफी ड्रोन आक्रमण गरेको छ, जसमा तुला शहरमा ३ जनाको मृत्यु भएको छ। रुसी रक्षा मन्त्रालयले रातभर विभिन्न क्षेत्रबाट १२३ वटा युक्रेनी ड्रोनहरू खसालेको दाबी गरेको छ।

