समाचार सारांश विश्व शान्तिका सन्देशवाहक ‘पिस डग’ अलोका लुम्बिनी हुँदै काठमाडौँ आइपुगेको छ। भियतनामी भिक्षु पन्याकरसँगै नेपाल आएको अलोकाले स्वयम्भू परिक्रमा गरी राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गर्ने कार्यक्रम छ। भारतको सडकमा बेवारिसे अवस्थामा भेटिएको यो कुकुर अमेरिकामा २३०० माइल लामो पैदल यात्रा पूरा गरी चर्चित बनेको हो। मध्यन्हतिर। घाम चर्किरहेकै थियो। स्वयम्भूको उचाइमा भने सितल बताससँगै रंगबिरंगी लुङ्दर फहराइरहेको थियो। यहीबेला आनन्दकुटी बिहारको सिंढीहरू उक्लिदै एउटा कुकुर देखापर्यो। उसको घाँटीमा स्कार्फ बाँधिएको थियो। स्कार्फमा लेखिएको थियो– अलोका : पिस एम्बास्डर। यो त्यही कुकुर हो, जो विश्व शान्ति र करुणाका लागि सन्देशवाहक बनेको छ। यो त्यही कुकुर हो, जो अमेरिकामा १९ जना बौद्ध भिक्षुहरूसँगै २३०० माइल लामो पैदल यात्रा (वाक फर पिस) मा सहभागी थियो। यो त्यही कुकुर हो, जो भारतको सडकमा एउटा बेवारिसे जीवन बिताइरहेको थियो। कुनैबेला एक छाक खाना र सुरक्षित आश्रयका लागि भौँतारिरहेका यो कुकुर अहिले ‘सेलिब्रेटी’ बनेको छ। अलोका, द पिस डग। आज यही उपमाले ऊ विश्वभरी पुकारिएको छ। बौद्ध भिक्षुसँगै विश्व परिक्रमा गरिरहेको यो कुकुर आज मात्र लुम्बिनीबाट बुद्ध एयरको जहाजबाट काठमाडौं ओर्लिएको हो। अलोकालाई आफ्नो उडानमा स्वागत गर्न पाउँदा एकदमै हर्षित भएको भन्दै बुद्ध एयरले सामाजिक सञ्जालमा फोटो राखेको थियो। भिक्षुहरूको समूहमा रहेको अलोकाले विमानस्थलबाट बौद्ध हुँदै आनन्दकुटी बिहारमा गएर बिश्राम लिइरहेको लियो। त्यसपछि मध्यन्हतिर स्यम्भूमा उक्लियो। अघि–पछि लागेको प्रशंसकको लामो लस्करसँगै स्वयम्भूको फन्को लगायो। अनि राष्ट्रपति भवनतर्फ हुँइकियो। यो गतिशिल यात्रामा ऊ भने शान्त र सौम्य देखिन्थ्यो। ऊसँग फोटो खिच्न मात्र होइन, उसलाई एक पटक स्पर्श गर्न लालयितहरूको त्यहाँ भीड लागेको थियो। अलोका को थियो? कसरी बौद्ध भिक्षुको संगत पायो? कसरी विश्व शान्ति यात्रामा निस्कियो? यो सिलसिला बताउनुअघि उनको वर्तमान यात्रा तालिकाको कुरा गरौं। एक सातादेखि भारत भ्रमणमा रहेका भियतनामी भिक्षु पन्याकरको साथ लागेर अलोका पनि हिजो लुम्बिनी पुगेको थियो। उनीहरू सुनौली हुँदै लुम्बिनी पुगेका थिए। त्यहाँ अखण्ड शान्ति द्वीपबाट मायादेवी मन्दिरसम्म पिस वाक गरेका थिए। मायादेवी मन्दिरमा उनीहरूको भव्य स्वागत गरिएको थियो। आज काठमाडौं ओर्लिएसँगै बौद्ध, स्वयम्भू परिक्रमा गरेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरी भोलि भारत फर्कने कार्यतालिका छ। अब अलोकातर्फ फर्कौं अलोकाको कथा भारतबाट सुरु हुन्छ। त्यसबेला अलोका लगभग ४ वर्षको थियो। बौद्ध भिक्षुहरू पैदल यात्रा गरिरहेको बेला यो कुकुर स्वतस्फूर्त उनीहरूको लस्करमा मिसियो। अलोकालाई प्रशिक्षित गरिएको थिएन। न उसलाई कसैले डोहोर्याएको थियो। ऊ आफैंले भिक्षुहरूको संगत रोजेको थियो। तस्वीरहरू : आर्यन धिमाल।

