Skip to main content

ट्रेनिङ ग्राउण्ड, बुढानिलकण्ठ, अन्नपूर्ण र आइएसए विजयी भएका छन्

१ असोज, काठमाडौं । ट्रेनिङ ग्राउण्ड, बुढानिलकण्ठ नगरपालिका, अन्नपूर्ण र आइएसए नेपालले १०औं राष्ट्रिय महिला खुल्ला बास्केटबल च्याम्पियनसिपमा सोमबार विजयी सुरुवात गरेका छन्। नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा कीर्तिपुर कभर्डहलमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा समूह ए मा रहेको ट्रेनिङ ग्राउण्डले लुम्बिनी प्रदेशलाई ८४-२३ को फराकिलो अन्तरले हरायो। ट्रेनिङ ग्राउण्डले चारै क्वाटरमा अग्रता लिँदै २४-८, २६-६, २२-१, १२-८ को प्रदर्शन गर्‍यो। यस खेलमा रोशनी श्रेष्ठ प्लेअर अफ दी म्याच घोषित भइन्।

यस्तै, समूह बी का खेलमा बुढानिलकण्ठले प्रतिस्पर्धात्मक ग्राण्डी स्टार्सलाई ५०-३८ ले हरायो। ग्राण्डीले पहिलो क्वाटर १६-१२ र दोस्रो क्वाटर ९-५ ले आफ्नो पक्षमा पार्दा हाफटाइमसम्म २५-१७ को अग्रता बनाएको थियो। तर बुढानिलकण्ठले अन्तिम दुई क्वाटरमा १०-१ र २३-१२ को अग्रता बनाउँदै खेल जितेको हो। यस खेलमा राष्ट्रिय टिमकी कप्तान समेत रहेकी अनुसा मल्ल प्लेअर अफ दि म्याच घोषित भइन्।

समूह ए मा रहेको उपत्यका बाहिरको दुई टोलीबीचको भिडन्तमा अन्नपूर्ण बास्केटबल एसोसिएसनले सुनसरी बास्केटबल एसोसिएसनलाई ४४-३५ ले हरायो। खेलमा अन्नपूर्णले १०-५, १३-५, ५-१०, १६-१५ को प्रदर्शन गर्‍यो। अन्नपूर्णकी निबीती शर्मा प्लेअर अफ दि म्याच घोषित भइन्। यस्तै समूह ए को प्रतिस्पर्धात्मक खेलमा आइएसए नेपालले लेट्स गो बास्केटबल एकेडेमीलाई ४८-४१ ले हरायो। पहिलो क्वाटरमा लेट्स गो बास्केटबल एकेडेमीले १८-१२ ले आफ्नो पक्षमा त्यसपछि आइएसए नेपालले पुनरागमन गरेको हो। दोस्रो क्वाटरमा आइएसए नेपालले ११-६ ले आफ्नो पक्षमा पार्दा तेस्रो क्वाटरमा दुवैले १०-१० स्कोर गरेका थिए। तेस्रो क्वाटरसम्म लेट्स गो बास्केटबल एकेडेमी ३४-३३ ले अघि रहेपनि चौथो तथा अन्तिम क्वाटर १५-७ ले आफ्नो पक्षमा पार्दै आइएसएले खेल जितेको हो। आइएसएकी मिली लामा तामाङ प्लेअर अफ दि म्याच घोषित भइन्।